
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई सफल र दिगो बनाउन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वसाधारण तथा पर्यटन व्यवसायीलाई पोखरा-दुबई उडान प्रयोग गर्न सार्वजनिक आह्वान गरेका छन्।
फ्लाई दुबईमार्फत पोखरा भित्रिनेको तुलनामा पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या न्यून देखिएपछि मेयर आचार्यले आगामी ३/४ महिनालाई विशेष प्राथमिकतामा राखेर यही विमानस्थल प्रयोग गर्न आग्रह गरेका हुन्।
काठमाडौंको तुलनामा पोखराबाट हवाई भाडा सस्तो रहेको उल्लेख गर्दै उनले सुरुवाती चरणको यो उडानलाई निरन्तरता दिन नसके भविष्यमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारमा ठूलो चुनौती थपिने चेतावनी दिएका छन्।
उनले अहिले पहल गर्न नसके पछि पश्चात्ताप गर्नुको अर्थ नरहने भन्दै यसलाई व्यक्तिगत वा संस्थागत पक्ष-विपक्षभन्दा माथि उठेर पोखराको भविष्यसँग जोडिएको साझा जिम्मेवारीका रूपमा लिन सबैलाई अनुरोध गरेका छन्।
उडानलाई सहज बनाउन र यात्रुको बुकिङ बढाउन महानगरपालिकाले प्रदेश तथा सङ्घीय सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायीहरूसँग आवश्यक समन्वय गरिरहेको छ।
पोखरासहित धौलागिरी, चितवन-भरतपुर र बुटवल क्षेत्रका यात्रुहरूलाई पोखराबाटै यात्रा तय गर्न आग्रह गर्दै मेयर आचार्यले व्यावसायिक तथा समूहगत यात्राका लागि विशेष सहुलियतको व्यवस्था गर्न एयरलाइन्सलाई अनुरोध गरिएको बताएका छन्।
साथै, भिसा र प्रहरी रिपोर्टका प्रक्रियामा सहजीकरण भइरहेको र भारतीय नागरिकका लागि आवश्यक ‘नो अब्जेक्सन लेटर’ पोखरा पेन्सन क्याम्पबाटै उपलब्ध गराउन भारतीय दूतावाससँग पहल गरिएको छ।
यात्रुको जानकारी र सहजीकरणका लागि फ्लाई दुबईले पोखराको पुरानो विमानस्थल अगाडि (सम्पर्क: लिना महर्जन, ९८५६०२००००/९७१४५९२०३०) र नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) गण्डकीले जरेवरमा डेडिकेटेड डेस्क (सम्पर्क: प्रमोद सापकोटा, ०६१-४५३११४/९८५६०६३११४) सञ्चालनमा ल्याएका छन्।
