ब्रह्मरुपा माविमा विद्यालय नर्स निरुता खड्कालाई स्वागत

Share:

पोखरा । पोखरा महानगरपालिका-३२, राजाको चौतारास्थित ब्रह्मरुपा माध्यमिक विद्यालयमा विद्यालय नर्स निरुता खड्कालाई स्वागत गरिएको छ ।

पोखरा महानगरपालिकाको शिक्षा शाखाले विद्यार्थीको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले कास्कीका नमुना विद्यालय, प्राविधिक विद्यालय तथा एक हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयमा करार सेवामा थप नर्सको व्यवस्था गरेपछि ब्रह्मरुपा माविमा पनि नर्स खड्कालाई स्वागत गरिएको हो।

स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले विद्यालयमा थप नर्सको व्यवस्था भएपछि विद्यार्थीको स्वास्थ्य हेरचाह र स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गर्न सहज हुने बताए ।

उनले विद्यालयमा नर्सको व्यवस्था गरिदिएकोमा पोखरा महानगरपालिकाप्रति आभार व्यक्त गरे । विद्यालयका सहायक प्रधानाध्यापक मधुसूदन सापकोटाले शिक्षा र स्वास्थ्य दुवै विद्यार्थीका आधारभूत अधिकार भएको उल्लेख गर्दै विद्यालयमा नर्सको उपस्थितिले विद्यार्थीको नियमित पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य सेवाको सहज उपलब्धताले विद्यार्थीलाई सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा हासिल गर्न थप हौसला मिल्ने उनको भनाइ थियो। चार दर्जनभन्दा बढी शिक्षक तथा कर्मचारी र सात सयभन्दा बढी विद्यार्थी रहेको ब्रह्मरुपा माध्यमिक विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ।

विद्यालयमा कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषयको प्राविधिक शिक्षा विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको छ। विद्यालयमा नर्सको थप व्यवस्थासँगै विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी परामर्श, प्राथमिक उपचार तथा स्वास्थ्य सचेतना प्रदान गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: