बाउसो र बोतल प्रहार गरी ७२ वर्षीय वृद्धको हत्या गर्ने कास्कीमा पक्राउ

Share:

पोखरा। पोखरा महानगरपालिका-२४ कार्कीको तगाराका ७२ वर्षीय पूर्ण भद्र त्रिपाठीको बाउसो (कोदालो) र सिसाको बोतल प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय जगत दाहाल रहेका छन्।

प्रहरीका अनुसार असोज १९ गते बेलुकी करिब ५:४५ बजे दाहालले त्रिपाठीमाथि बाउसो र सिसाको बोतलले आक्रमण गरी घाइते बनाएर फरार भएका थिए।

घटनाको सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले घाइते त्रिपाठीलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पोखरा पुर्‍याएकोमा चिकित्सकले साढे ७ बजे मृत घोषणा गरेका थिए।

घटनापछि भाग्दै गरेका दाहाललाई प्रहरीले सोही साँझ ७:१५ बजे पोखरा-२४ स्थित पामेको पुलबाट नियन्त्रणमा लिएको हो। घटनास्थलबाट वारदातमा प्रयोग भएको एक थान बाउसो र एक थान सिसाको बोतल समेत बरामद गरिएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ परेका दाहालविरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

मृतकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा राखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: