टिकटक र ह्वाट्सएपमार्फत अनलाइन ठगी गर्ने १७ वर्षीय किशोर धनुषाबाट पक्राउ

Share:

पोखरा। सामाजिक सञ्जाल टिकटक र ह्वाट्सएपको प्रयोग गरी अनलाइन ठगी गरेको अभियोगमा प्रहरीले धनुषाबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र नेपाल प्रहरी साइबर ब्युरो भोटाहिटीको संयुक्त टोलीले धनुषाको जनकनन्दिनी गाउँपालिका–१ का ती किशोरलाई (परिवर्तित नामथर: २०८३/०८४ कास्की २५) आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ती किशोरले टिकटकमा ‘सन्ध्या कलेक्सन’ (@sandhyacollection35) नामको आईडी बनाएर विभिन्न कपडाहरू सस्तो मूल्यमा बिक्रीमा रहेको विज्ञापन देखाउने गरेका थिए। सामान किन्न सम्पर्कमा आउने ग्राहकहरूसँग ह्वाट्सएप नम्बर ९७०८४७१९११ मार्फत संवाद गरी सुरुमा रकम जम्मा गर्न लगाउने र पछि ‘रकम प्राप्त भएन’ भन्दै झुक्याएर ओटीपी (OTP) कोड मागेर ठगी गर्ने गरेको पाइएको छ।

गत साउन ३० गते परेको जाहेरीका आधारमा ह्वाट्सएपको आईपी एड्रेस पछ्याउँदै जाँदा धनुषा प्रहरीको सहयोगमा असोज १९ गते उनलाई पक्राउ गरिएको हो। उनको साथबाट ठगीमा प्रयोग भएका २ थान मोबाइल, १ थान सामसुङको ट्याब र १ थान वाईफाई राउटर समेत बरामद गरिएको छ।

पक्राउ परेका किशोरविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

यी खाताबाट ठगिनुभएको छ ? 

प्रहरीका अनुसार ती किशोरले ठगीधन्दाका लागि सिद्धार्थ बैंक (खाता नं: 0045213281), गरिमा विकास बैंक (खाता नं: 05701301393933000001), एनएमबी बैंक (खाता नं: 0800216873400012) र ईसेवा वालेट (नम्बर: 9829976360) प्रयोग गर्दै आएका थिए।

उल्लेखित ह्वाट्सएप नम्बर तथा बैंक एवं ईसेवा खाताहरूबाट ठगीमा परेका अन्य सर्वसाधारण भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: