
पोखरा । पोखरामा दुई राउण्ड राईफलको गोली र विभिन्न लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३ नदिपुरमा लागू औषधको बिक्री-वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले २३ वर्षीय रविन बहादुर नेपालीलाई पक्राउ गरेको हो।
पोखरा-१८ सराङ्कोट स्थायी घर भई हाल पोखरा-३ नदिपुर बस्दै आएका नेपालीको घरकोठा खानतलासी गर्दा एसएलआर (SLR) राईफलको १ राउण्ड गोली, .३०३ राईफलको १ राउण्ड गोली, लागू औषध गाँजा १ किलो ५० ग्राम, टापेन्टाडोल ट्याब्लेट ४० चक्की, नगद रु. ४३,४२० र १ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
असोज २१ गते बेलुकी करिब १७:३० बजे पक्राउ परेका नेपालीमाथि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा दिन सात (७) को म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
