
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा पर्वत महाशिला गाउँपालिका वडा नम्बर ६ फलामखानीका २९ वर्षका बिक्रम सुनार र गोरखा पालुङ्टार नगरपालिका वडा नम्बर ७ का ३९ वर्षका राजु कुमाल रहेका छन्।
बिहीबार जग खन्ने क्रममा माटोको ढिस्को खसेर उनीहरू पुरिएका थिए। घट्नाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वाटर कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजित कुमार यादवको कमान्डमा १३ जनाको विपद् व्यवस्थापन टोली उद्धार सामग्रीसहित दिउँसो ३:१० बजे घटनास्थलतर्फ खटिएको थियो।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय र स्काईभेटरको सहयोगमा खोजी तथा उद्धार कार्य गरिएको थियो। उद्धार टोलीले अपरान्ह ४:३० बजे र साँझ ६:०५ बजे पुरिएको अवस्थामा ती युवकहरूलाई अचेत फेला पारेको थियो। उद्धारपश्चात् थप उपचारका लागि नेपाल प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकहरूले जाँचका क्रममा उनीहरूलाई मृत घोषणा गरेका हुन्।
