
काठमाडौँ। निरन्तरको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। शुक्रवार अपराह्णसम्म ३० घण्टादेखि देशभर अविरल वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
निरन्तर वर्षा भएकाले प्राकृतिक विपत्ति निम्तिन सक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।
पहाडी भेगमा शुक्रवार उडान हुन सकेन भने देशभरि विभिन्न राजमार्गहरू बाढी र पहिरोका कारण प्रभावित भएका छन्।
यस्तै जिल्ला प्रशासन चितवनले पूर्व पश्चिम महेन्द्र राजमार्गलाई काठमाडौँसँग जोड्ने सडकको नारायणगढ-मुग्लिन खण्ड शुक्रवार राति बन्द गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका विपद् जोखिम प्राधिकरणको सूचना र निरन्तरको वर्षालाई विचार गर्दै आज साँझ ७ बजेबाट भोलि बिहान ५ बजेसम्म रामनगरदेखि मुग्लिनसम्मको सडकमा सार्वजनिक र निजी सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको छ।
वर्षाका कारण देशभरका सडकहरूमा पहिरो खसेपछि अवरुद्ध भएका छन्। यस्तै विभिन्न २० जिल्लामा अति उच्चसतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
