ईबुक, अडियोबुक र प्रिन्ट अन-डिमान्ड सुविधासहित बुकहिलको मोबाइल एप सार्वजनिक

246
0
Share:

काठमाडौं : बुकहिल पब्लिकेसनले आफ्नो आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ ।  कम्पनीले हिजो औपचारिक रूपमा प्लेस्टोर र एपस्टोरमा एप सार्वजनिक गरेको हो ।

नेपाली प्रकाशकमध्ये पहिलोपटक मोबाइल एप सार्वजनिक गर्नेमा बुकहिल पहिलो प्रकाशक भएको बुकहिलका संस्थापक अध्यक्ष भूपेन्द्र खड्काले भने, “हामीले ईबुक, अडियोबुक, प्रिन्ट अन डिमान्डको सुविधा विश्वभर उपलब्ध गराएका छौं । अमेजन, फ्लिपकार्टसहित ११ ओटा प्लेटफर्मबाट प्रिन्ट अन डिमान्ड उपलब्ध गराउनेगरी एप सुरु गरेका छौं ।” हाल यस एपमा २० ओटा ईबुक उपलब्ध भए पनि यो सप्ताहान्तमा थप ईबुक भर्सन उपलब्ध हुनेछ ।

साथै, क्रमिकरूपमा अडियो बुक पनि उपलब्ध गराउने खड्काले बताए । कम्पनीले ल्याएको प्रिन्ट अन डिमान्ड सेवा यूके, युरोप, अस्ट्रेलिया, अमेरिका लगायतका देशमा उपलब्ध छ । यसअन्तर्गत बुकहिलबाट प्रकाशन भएका पुस्तक ग्राहकले अमेजन, फ्लिपकार्टसहित ११ ओटा प्लेटफर्मबाट अर्डर गर्न सक्ने खड्काले बताए । अर्डर गरिसकेपछि ती प्लेटफर्मले ग्राहकको माग बमोजिमका पुस्तक छापेर उपलब्ध गराउनेछन् ।

“अब देश बाहिर बस्ने नेपालीले नेपालबाटै पुस्तक मगाइरहन परेन”, खड्काले भने, “अर्डर गरिसकेपछि ती प्लेटफर्मले बुक प्रिन्ट गरेर उपलब्ध गराउँछन् ।” यो सुविधाका लागि एक वर्षभन्दा बढी समयदेखि काम गरेको उनले बताए । एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले बुकहिलको एप डाउनलोड गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि ईबुक वा भौतिक पुस्तक खरिद गर्न अकाउन्ट बनाउनुपर्ने हुन्छ ।

अकाउन्ट बनाउन नाम, ईमेल र पासवर्ड सेट गर्नुपर्छ । पुस्तक अर्डर गर्नका लागि भने सम्पर्क नम्बर र ठेगाना पनि उपलब्ध गराउनुपर्ने हुन्छ । प्रयोगकर्ताले खरिद गरेका अडियोबुक, ईबुक र आर्टिकल ‘माई लाइब्रेरी’को क्याटेगोरीमा पाउन सकिन्छ । त्यसबाहेक यसमा विधाअनुसार पुस्तक खोज्न सकिने सुविधा दिइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: