दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Share:

काठमाडौँ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडक खण्ड अवरुद्ध भएको छ। नवलपरासीको दाउन्नेमा सडक भासिएको र होङ्सी सिमेन्ट जाने हाइटेन्सन लाइन पनि ढलेका कारण साँझदेखि बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको छ भने सडक किनाराको रिटर्निङ पर्खाल पनि फुटेको छ।

त्यसैगरी विद्युत हाइटेन्सन लाइनको ठूलो पोल पनि सडकतर्फ ढलेको छ। प्रहरीले सडक चर्किएर साढे १ फिट भासिन पुगेको बताएको छ।

अहिले साँझ सवा ५ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको र बाटो खुलाउन, सडक डिभिजन कार्यालय र विद्युत कार्यालयसँग समन्वय भइरहेको प्रहरीको भनाइ छ।

बाटो धसिएपछि पूर्वबाट पश्चिम जाने गाडीहरु दुम्किवासमा रोकिएका र पश्चिमबाट पूर्व जाने गाडीहरु बर्दघाटमा रोकिएका नवलपुर प्रहरीले जनाएको छ।

बाटो अवरुद्ध भएका कारण सयौंको संख्यामा यात्रुहरु अलपत्र परेका छन्।

कमेन्ट गर्नुहोस्
Share: