
विग न्यूज/ पोखरा, ५ असार । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले भूकम्प पिडितहरुको राहतको लागि २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । भूकम्प पिडितको सहयोगार्थ ईक्यान केन्द्रमा कास्की शाखाले २ लाख रुपैयाँ पठाएको हो । केन्द्रले भूकम्प पिडितहरुलाई जम्माजम्मी २१ लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो ।
कास्की ईक्यानका अध्यक्ष महेश भण्डारीका अनुसार कास्कीका सबै ईक्यानसँग आबद्ध संस्थाहरुले नगद संकलनमा सहयोग गरेका थिए । सम्पूर्ण ईक्यानका प्रतिनीधिहरुले निकै सहभागितामुलक तरिकाले सहयोग प्रदान गरेको प्रति उनले धन्यबाद दिए ।
उता ईक्यान केन्द्रले कास्कीबाट आएको सहयोग प्रति खुशि व्यक्त गरेको छ । ‘खासगरि हामीले पाँच हजार रुपैयाँ संकलन गर्ने गरि अभियानलाई अगाडि बढाएका थियौँ ।’ ईक्यानका केन्द्रिय अध्यक्ष राजेन्द्र बरालले भने–‘तर पोखराबाट स्वतस्फुर्त रुपमा त्यो भन्दा बढि रकम पनि सहयोगको लागि पठाउनुभएको छ ।’ उनले अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिए ।
ईक्यानले भूकम्प प्रभावित ईलाका गोरखा, धादिङ, सिन्धुपाल्चोक, रामेछाप र नुवाकोटमा राहत वितरण गरेको थियो । ४५ टन चामल र त्रिपालहरु उसले त्यहाँ पुगेर बाँडेको थियो ।
