
पोखरा। स्याङ्जाका ११ वटा अतिरिक्त हुलाक कार्यालयहरू खारेज गरिएका छन्। नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८० कार्यान्वयनमा ल्याएसँगै यहाँका ११ अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन्।
यसअघि ५३ अतिरिक्त हुलाकमार्फत सेवा दिने गरिएकोमा ११ वटा खारेज भएका जिल्ला हुलाक कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए। अतिरिक्त हुलाकमा रहेका कर्मचारी ५८ वर्ष पूरा भएपछि क्रमशः अवकाश हुँदै जाने र उक्त पद स्वतः खारेज हुने नीति सरकारले ल्याएसँगै अतिरिक्त हुलाक खारेजीमा परेका उनको भनाइ छ।
कार्यरत कर्मचारी ५८ वर्ष पूरा भएमा त्यस्तो ठाउँका हुलाक स्वतः खारेज हुने नीतिअनुसार यहाँ पनि ११ अतिरिक्त हुलाक खारेजीमा परेका हुन्। उनका अनुसार धेरैजसो अतिरिक्त हुलाकमा ५८ वर्ष उमेर नपुगेका एक वा दुई जनाले सेवा दिँदै आएका छन्।
खारेज भएका अतिरिक्त हुलाकमा पुतलीबजार-५ स्थित पौवेगौंड, चापाकोट-८ मा रहेको क्वामी, भीरकोट-६ मा रहेको खिलुङ देउराली, वालिङ- ४ मा रहेको एलादी, आँधीखोला-२ मा रहेको चिलाउनेबास, आँधीखोला-५ स्थित निवुवाबोट, फेदीखोला-२ को मट्टिखान, हरिनास गाउँपालिकामा रहेको चित्रेभञ्ज्याङ, यहाँकै मग्याम, कालीगण्डकी गाउँपालिका-४ को बिर्घा र चापाकोट-१ को पकवादी अतिरिक्त हुलाक कार्यालय रहेका छन्।
नियमावली जारी भई कार्यान्वयनमा आएपछि स्याङ्जामा अतिरिक्त हुलाकमा कार्यरत ६९ जनाले अनिवार्य अवकाश पाइसकेका छन्।
