बीपी राजमार्गको धुलिखेल-बर्खेखोला खण्ड रातिको समयमा बन्द

Share:

काठमाडौँ। बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल-भकुण्डेबेंसी-बर्खेखोला सडक खण्ड रातिको समयमा बन्द गरिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गर्दै नयाँ ट्र्याक खोलिएको ठाउँमा मर्मत कार्य चलिरहेकोले साँझ ६ देखि बिहान ४ बजेसम्म सडक बन्द गरिने जानकारी गराएको हो।

‘काभ्रे जिल्लाअन्तर्गत क्षतविक्षत रहेको भकुण्डेबेंसी चौकीडाँडादेखि बर्खेखोलासम्मको सडक खण्डहरुमा ट्र्याक निर्माण भए पनि हाल ट्र्याकको मर्मत तथा सुधार गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेको साथै जुनसुकै समयमा पनि उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले,’ सूचनामा लेखिएको छ,’हाललाई बेलुका ६ देखि बिहानको ४ बजेसम्म बीपी राजमार्ग (धुलिखेल-भकुण्डेबेंसी-बर्खेखोला सडक खण्ड) बन्द रहने व्यहोरा सर्वसाधारण सबैलाई जानकारी गराइन्छ।’

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले भकुण्डेबेंसी-बर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी सडक पूर्ण रूपमा बगाएपछि नयाँ ट्र्याक निर्माण गरी यात्रुवाहक सवारी साधनको लागि मात्र आवागमन खुलाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: