
पोखरा। दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको आज (मंगलबार) १५ हजार बढी दर्शकले अवलोकन गरेका छन्। महोत्सव मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासब्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आज दोस्रो दिन टिकट काटेर १५ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको जानकारी दिए।
आज एकादशी परेको र स्थानीय बिदा समेत भएको हुँदा दर्शकहरुको राम्रो
उपस्थिति रहेको भन्दै उनले आगामी दिनमा दर्शकको संख्या अझै बढ्ने
आफूहरुले विश्वास लिएको बताए।
दोस्रो दिनमै दर्शकको उपस्थिति राम्रो भएको हुँदा यस महोत्सवलाई अझै व्यवस्थित गर्दै अगाडि बढ्ने उनको भनाई छ।महोत्सवका क्रममा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने समेत भट्टचनले बताए।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज राष्ट्रिय लोक तथा दोहोरी गीत
प्रतिष्ठान नेपालका उपाध्यक्ष रमेशराज भट्टराई, कलाकार उमादेवी खनाल तथा
स्थानीय कलाकारहरुको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर
लम्सालले जानकारी दिए।
आज साँझ स्टेज उक्लिएका कलाकार भट्टराई र खनालले दर्शकहरुलाई करिब दुई घण्टा मनोरञ्जन दिएका लम्सालको भनाइ छ। उनीहरुले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका लम्सालले बताए।
सांस्कृतिक कार्यक्रम अन्तर्गत भोलि बुधबार चर्चित कलाकार समीक्षा अधिकारी, दीपक
खड्का सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकारी दिए।
नवलपुरको गैँडाकोट-२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको महोत्सव
आगामी मंसिर १० गतेसम्म सञ्चालन हुनेछ।
दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा लगायतका तीन सयभन्दा बढी स्टलहरु राखिएका छन्।
महोत्सवमा टिकट काटेर प्रवेश गरेका दर्शकहरुलाई ऐतिहासिक धार्मिकस्थल
मौलाकालिका मन्दिर जाने केबलकारमा ५० प्रतिशत छुट प्रदान गरिने समेत
जनाइएको छ।




