
पोखरा। नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको शनिबार एकैदिन ३० हजार दर्शकले अवलोकन गरेका छ।
शनिबार सार्वजनिक बिदाको दिन परेको कारण दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए।
महोत्सवमा हालसम्मकै सबैभन्दा बढी दर्शक शनिबार महोत्सव स्थलमा प्रवेश गरेका उनको भनाइ छ। दर्शकको बढी उपस्थितिसँगै शनिबार यहाँ व्यापार व्यवसायसमेत धेरै नै भएको उनले जानकारी दिए।
महोत्सव स्थलमा राखिएको अन्डरवाटर फिस टनेल तथा जनजातिको सांस्कृतिक घरका कारणसमेत दर्शकहरुको सहभागिता बढ्दै गएको उनको भनाइ छ।
महोत्सव अन्तर्गत शनिबार चर्चित गायक रामजी खाँण र गायिका प्रिती आलेको प्रस्तुती रहेको थियो। दुवैले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका महोत्सवको सांस्कृतिक समिति सहसंयोजक किशोर लम्सालले जानकारी दिए।
यससँगै स्थानीय कलाकार, थारु जतिको लठ्ठी नाच, विभिन्न जातजातिको सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको लम्सालले बताए। शनिबार महोत्सवमा श्याम राना, दीपक खड्कासहित स्थानीय कलाकारहरुको उपस्थिति रहने लम्सालको भनाइ छ।
दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृंगारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिए।
सिंगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ।
कात्तिक २६ गते सुरु भएको महोत्सव मब्सिर १० गतेसम्म सञ्चालन हुनेछ। एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उनको भनाइ छ।
