
पोखरा। उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ। सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक ६ घण्टा खण्ड बन्द गरिने भएको हो।
सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयले जनाएको छ
आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिए।
म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उनले बताए। सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुङ्गा-लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईंले बताए।
