गण्डकी प्रदेश महोत्सवमा आज ज्योति मगरको प्रस्तुती

Share:

पोखरा। गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो गण्डकी प्रदेश महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुती रहने आयोजकले जनाएको छ। महोत्सवको सांस्कृतिक कार्यक्रम समितिका सह-संयोजक किशोर लम्सालका अनुसार आज साँझ महोत्सव स्थलमा ज्योति मगरको प्रस्तुती रहनेछ।

ज्योतिसँगै महोत्सवमा कलाकारहरु सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मा, गायक तथा उद्घोषक सञ्जय देवकोटालगायतको प्रस्तुती रहने लम्सालको भनाइ छ। नेपाल उद्योग वााणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको हो।

हालसम्म एक लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेका नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले जानकारी दिए। कात्तिक २६ देखि सञ्चालन भएको महोत्सवले गण्डकी प्रदेशकै सम्भावनाहरुको खोजी गर्ने र प्रदेशलाई पर्यटनको पूर्वाधारसँग जोड्ने उद्देश्य रहेको भट्टचनको भनाइ छ।

मंसिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा यसपटक नेपालमै पहिलोपटक अण्डर वाटर फिस टनेल निर्माण गरिएको उनले बताए। दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडाका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका भट्टचनको भनाइ छ।

सिंगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ। एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: