
पोखरा। गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएको
बताएका छन्।
नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो
संस्करणको गण्डकी प्रदेश महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले कृषि, पर्यटन र उद्योगको सवालमा नवलपुरले धेरै सम्भावना बोकेको बताए।
“यस जिल्लाले कृषि, पर्यटन, उद्योगको सवालमा धेरै सम्भावना बोकेको छ। उद्योगमा के गर्न सकिन्छ, भएका उद्योगहरुलाई कसरी स्थायीत्व दिन सकिन्छ, कृषि उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ, पर्यटनलाई कसरी उजागर गर्न सकिन्छ भन्ने विषयमा हामी गम्भीर छौँ” उनले भने, “यस क्षेत्रको
पर्यटनमा आकर्षण गर्न गैँडाकोट मौलाकालिका मन्दिरबाट नवलपुरकै अग्लो
डाँडो देवचुली, बरचुलीहुँदै पाल्पाको सिमभञ्ज्याङसम्म ट्रेकिङ रोड बनाउने
कल्पना गरेका छौँ।”
नवलपुरलाई पश्चिम पारेर बगेको नारायणी नदी किनारमा होमस्टे (घरबास) तथा उद्योग खुल्ने क्रम बढेको भन्दै उनले घरबास र उद्योगको राम्रो सम्भावना भएको बतााए। यस जिल्लाको समग्र सम्भावनालाई केलाएर गण्डकी प्रदेशलाई सबैभन्दा छुट्टै प्रदेशको पहिचान दिनुपर्ने भन्दै मन्त्री
बस्यालले त्यसका लागि नवलपुरले ठूलो योगदान राख्ने बताए।
“कृषि,उद्योग पर्यटनमा अरु जिल्ला भन्दा अगाडि र सम्भावना भएको ठाउँ नवलपुर हो” उनले भने, “नवलपुरलाई गण्डकी प्रदेशको हब बनाएर देशमै पहिचान गर्नका लागि सबैले सहयोग गर्नुपर्छ।”
गण्डकी प्रदेश महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको बिहीबार करिब नौ हजार दर्शकले अवलोकन गरेका बताए।
कात्तिक २६ गतेदेखि सञ्चालन भएको महोत्सवले गण्डकी प्रदेशकै सम्भावनाहरुको खोजी गर्ने र प्रदेशलाई पर्यटनको पूर्वाधारसँग जोड्ने उद्देश्य रहेको भट्टचनको भनाइ छ।
मंसिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा यसपटक नेपालमै पहिलोपटक अण्डर वाटर फिस टनेल निर्माण गरिएको उनले बताए।
