
पोखरा। नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव अवलोकनका लागि आउने दर्शकहरुको संख्या उल्लेख्य रहेको आयोजकले जनाएको छ।
महोत्सव आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष महोत्सव मूल समिति संयोजक अमृत भट्टचनकाअनुसार हालसम्म महोत्सव अवलोकन गर्न आउने दर्शकको संख्या एक लाख ५० हजार नाघेको छ।
आयोजकको अपेक्षाअनुसार दर्शकको संख्या बढ्दै गएको भन्दै भट्टचनले दर्शकको उपस्थितिले आफूहरुलाई उत्साह थपेको बताए। भट्टचनका अनुसार आज सोमबारसमेत दर्शकहरुको संख्या उल्लेख्य रहेको छ। ११ हजार बढी दर्शकहरुले सोमबार महोत्सव अवलोकन गरेका उनले बताए।
दोस्रो संस्करणको यस महोत्सवमा नेपालमै पहिलोपटक अन्डर वाटर फिस टनेल राखिएका कारण समेत शनिबार दर्शकहरुको संख्या बढेको बताए।
फिस टनेल हेर्नका लागि मात्रै भनेर पनि धेरै मानिसहरु महोत्सवस्थलसम्म आइपुगेका भट्टचनको भनाइ छ। गैँडाकोटस्थित नारायणी नदीकिनारमा लाग्ने हरेक संस्करणको महोत्सवमा केही नयाँ गर्दै जाने योजनाअनुसार यसपटकको महोत्सवमा नेपालमा नै पहिलोपटक अन्डर वाटर फिस टनेल निर्माण गरिएको उनले बताए।
कात्तिक २६ देखि जारी यस महोत्सवले गण्डकी प्रदेशकै सम्भावनाहरुको खोजी गर्ने र प्रदेशलाई पर्यटनको पूर्वाधारसँग जोड्ने उद्देश्य रहेको भट्टचनको भनाइ छ। महोत्सवको सांस्कृतिक कार्यक्रम समितिका सहसंयोजक किशोर लम्सालका अनुसार आज सोमबार सांस्कृतिक कार्यक्रममा हाउडे माया (सिर्जना खत्री), ऋतु थापा, लालुमाया कुँवर, मधु परियार, प्रियंका भण्डारी, रवि राना, गोकुल कँडेललगायतको प्रस्तुती रहेको थियो।
उनकाअनुसार भोलि मंगलबार महिमा क्षेत्री, मोनिका खत्री, विष्णु सिंजाली, रितु शाह, सञ्जय देवकोटालगायतको प्रस्तुती रहने लम्सालले बताए। नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको छ।
मंसिर १६ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृंगारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका भट्टचनको भनाइ छ। सिंगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ।
एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
