
पोखरा। भारतको नयाँ दिल्लीबाट आएको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलपटक ओर्लिएको छ। युरोपेली कम्पनी जेल एयरको सिंगल इन्जिन निजी जेट विमान बिहीबार पोखरा आएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार चालक दलका सदस्यसहित ४ यात्रु लिएर विमान बिहीबार साँझ पौने ६ बजे बजे पोखरा विमानस्थलमा उत्रेको हो।
आज राति पोखरामै बसेर उक्त विमान शुक्रबार बंगलादेश जाने तय भएको छ। पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान अहिलेसम्म हुन सकेको छैन।
पोखरामा यसअघि विभिन्न देशबाट ९ वटा चार्टर उडान भएका छन्। पोखरामा हुने ड्रागन बोट रेसमा सहभागी हुन पुस ११ मा चीनको सिचुवान एयरलाइन्सको चार्टर विमान खेलाडी लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने तालिका छ।
