
पोखरा । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ। ५ दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ।
बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे। समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबिच घनिभूत सम्बन्ध भएको औंल्याए। उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवर्धनमा सरकारले सघाउने वाचासमेत गरे।
संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले महोत्सव पर्वतीय क्षेत्रलाई चिनाउन सहयोगी बनेको उल्लेख गरिन्। उनले भनिन्, ‘पर्वतीय क्षेत्रका सम्भावना, जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिकाबारे गहन छलफल भएको छ। यसले देशको अर्थतन्त्रलाई अघि बढाउन, स्थानीयको जीवनस्तर उकास्न र पर्यटन प्रवर्धन गर्न पनि टेवा पुग्ने हाम्रो विश्वास छ।’
महोत्सवमा बिहीबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण देशभरि नै र खासगरी अन्नपूर्ण क्षेत्रमा अनेक चुनौती देखिएको सरोकारवालाले औंल्याए। पछिल्लो समय जलवायु परिवर्तनका असरहरु देखिएको जनाउँदै उनीहरुले मानवीय व्यवहारमा परिर्वतन, अनुकूलनसँगै जलवायु परिर्वतन गराउने क्रियाकलाप कम गर्नेतर्फ सोच्न आग्रह गरे।
सरोकारवालाले जलवायु परिर्वतनका कारण, समस्यासहित समाधानका उपायहरुबारे समेत छलफल गरे। ‘अन्नपूर्ण क्षेत्रमा जलवायु परिर्वतनका असरहरु’ शीर्षकको छलफलको संयोजन जनप्रिय बहुमुखी क्याम्पसको बिएमटिएम कार्यक्रमले गरेको थियो।
कार्यक्रममा वातावरण विज्ञ प्राडा विकास केसीले जलवायु परिवर्तनका असरहरु कम गर्न पूर्वसावधानीका लागि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। उनले ठाउँ ठाउँमा अनियमित वर्षा र त्यो वर्षाका कारण अकल्पनीय क्षति हुन थालेको औंल्याए।
‘पहिल्लो क्रममा अनियन्त्रित वर्षा हुन थालेको छ, नसोचेको क्षति पनि भएको छ। यसको कारण जलवायु परिर्वतन नै हो वा होइन भनी गम्भीर अनुसन्धान जरुरी छ,’ उनले भने।
