
कास्की । सशस्त्र प्रहरी बल गण्डकी प्रदेश कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। लेखनाथ रंगशालामा बिहीबार भएको खेलमा सशस्त्रले गोर्खा फुटबल क्लबलाई १-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
सशस्त्रका सुजन तामाङले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए। उनको गोल नै सशस्त्रको जितमा निर्णायक बन्यो । खेलमा सशस्त्रका गोलकिपर अजितकुमार विक म्यान अफ द म्याच बने। उनले नगद ५ हजारसहित मेडल हात पारेका छन्।
शनिबार सशस्त्र प्रहरी बल गण्डकी र कास्की ११ का बीच फाइनल खेल हुने क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए। कास्कीले बुधबार पेनाल्टी सुट आउटमा आयोजक आदर्शलाई ४-३ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।
गण्डकी प्रदेशबाट ८ समूहको सहभागिता रहेको प्रतियोगिताका विजेताले नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ र उपविजेतालाई नगद २ लाख २५ हजार ५ सय २५ रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र दिइनेछ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ।
