जाली-फाटाहा र भ्रष्टाचारीका संरक्षक प्रचण्ड हुन् : प्रधानमन्त्री ओली

277
0
Share:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमको खेती गरिरहेको बताएका छन्। शुक्रवार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

माओवादी देशमा आएसँगै जाली, फटाहा, बेइमानी शुरु भएको र मान्छेहरुलाई दुःख दिने कुप्रचार गर्ने काम शुरु भएको आरोप लगाउँदै उनले नराम्रा कामहरुको नेतृत्व (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले गरिरहेको बताए।

प्रधानमन्त्री ओलीले (माओवादी केन्द्र) नेकपा एमाले र आफूविरुद्ध बढी भ्रम पैदा गर्नेमा सक्रिय रहेको बताउँदै जतिसुकै भ्रम पैदा गरे पनि सहन गरेर बसिरहेको दाबी गरे। झुटको खण्डन गरेर आफूहरु अघि बढ्ने र झुटोलाई पराजित गरेरै छोड्ने उनको भनाइ छ।

प्रचण्ड भ्रष्टाचारीको संरक्षक, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने मान्छे भएको बताउँदै उनले नेकपा एमाले जनताको मनमा बस्यो र एमाले अध्यक्ष स्थापित भयो भन्ने पीर माओवादीलाई परेको जिकिर गरे।

ओलीले भने, ‘माओवादी जुन दिन देशमा पलायो, त्यो दिनबाट जाली, फटाहा, बेइमान, कहिले मुद्दा हाल्ने, के गर्ने, मान्छेहरुलाई दुःख दिने कुप्रचार गर्ने, यो सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ। नराम्रा कामहरु जति प्रचण्ड महोदयले नराम्रा कामहरुको नेतृत्व गरिरहेको छ। उहाँहरुको गिरोह सक्रिय छ। अरु होइन, नेकपा एमालेका बिरुद्ध सक्रिय छ, त्यसमा पनि मेराबिरुद्ध सक्रिय छ। म शिवजीले विष सेवन गरेर कहिले गोसाईकुण्ड पुग्नुहुन्थ्यो, कहिले कता। म यहीँ काठमाडौं बसिबसि, पिइ पनि दिन्छु, पचाइ पनि दिन्छु। जसले जे जे फैल्याएपनि त्यसको खण्डन गरेर जाने हो। झुटसँग हामी कहिले पनि टेर्दैनौँ । झुटलाई पराजित गरेर जाने हो। कहिले सबैभन्दा ठूलो भ्रष्टाचारी, देशै लुटेर फेरि एमाले भ्रष्टाचारी, फेरि केपी ओली भ्रष्टाचारी ? भ्रष्टाचारीको संरक्षक भएर, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने, जे होस्। हाम्रा बिरुद्ध लड्न सक्दैनन्, भ्रम फिँजाएर कसरी अविश्वास पैदा गर्ने ? मान्छेका मनबाट आस्था कसरी हटाउने ? यिनीहरुलाई परेको पीर के हो भने नेकपा एमाले स्थापित भयो, नेकपा एमालेको अध्यक्ष स्थापित भयो, त्यसकारणले यिनीहरुलाई पीर परेको हो। आफू पनि राम्रो काम गरेको भए त हुन्थ्यो नि।’

कुनै पनि भ्रष्टाचारीले कुनै भ्रमको सहायता लिएर कुनै प्रकारका अनुचित, असंवैधानिक, गैरकानूनी, हिंसात्मक, झुट, बेइमानीको बाटो लिएर भ्रष्टाचारबाट उम्किन्छु भन्ने नसोच्न उनले चेतावनी समेत दिए।

कमेन्ट गर्नुहोस्
Share: