
पोखरा। मादी गाउँपालिका- ५ ठूलोस्वाँरामा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले खोटाङका ३१ वर्षीय उमेश राईलाई शुक्रबार पक्राउ गरेको हो।
ठूलीस्वाँराका वर्ष ४८ को दुर्गाबहादुर गुरुङलाई आफ्नै घरमा राईले पेट्रोल छर्केर आगो लगाई भागेको कास्की प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार घाईते गुरुङलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा थप उपचारको लागि मणिपाल रिफर गरिएको थियो। त्यसपछि उनलाई काठमाडौं लगिएकोमा अहिले उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।
सुनपदेँलीस्थित पुरानो स्कुलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएकाे साथै राईको साथबाट लाइटर-३ थान, बोत्तल-१ थान, मोबाइल- ३ थान र लाइसेन्स-१ थान बरामद भएको प्रहरीले बताएको छ। उनलाई कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा दिन (५) पाँच म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
