पोखरा-जोमसोम हवाई उडान ३ महिना बन्द

Share:

पोखरा। पोखरा-जोमसोम हवाई उडान ३ महिनाका लागि बन्द गरिएको छ। पोखराबाट मुस्ताङका लागि हवाई मार्गबाट यात्रा गर्ने यात्रुको संख्या कम भएसँगै ३ महिनाका लागि उडान स्थगित गरिएको हो। पोखरा-जोमसोम हवाई उडान ३ महिनाका लागि बन्द भएको तारा एयरलाइन्स जोमसोमका स्टेसन इन्चार्ज सुचन लालचनले बताए। उनका अनुसार हवाई मार्ग हुँदै मुस्ताङ आउजाउ गर्ने यात्रु संख्या निकै कम भएकाले उडान बन्द गर्नु परेको हो।

पोखरा-जोमसोम हवाई उडान डिसेम्बर २ तारिखदेखि मार्च १ तारिखसम्म स्थगित गरिएको बताए। ‘पोखराबाट मुस्ताङ आउजाउ गर्ने यात्रु कम भए। एक उडान भर्न समेत मुस्किल भयो। यात्रु नभएपछि खाली जहाज उडाएर भएन। यसैले हवाई उडान ३ महिनाका लागि बन्द गर्ने निर्णय भएको हो’, उनले भने। उनले हवाई यात्रु नभएकै कारण पोखरा-जोमसोम हवाई उडान स्थगित भएको सुनाए।

हिउँदयामको मौसममा हवाई यात्रु कम हुने र मुस्ताङको मौसम समेत प्रतिकूल हुने भएकाले पनि उडान स्थगित गर्नुपर्ने हुन्छ। हावाहुरी र हुस्सु  लगायतका कारण यहाँको लागि हवाई उडानको जोखिम हुन्छ। मुस्ताङमा पोखरा-जोमसोम हवाई सेवाका लागि तारा र समिटको साना जहाजले उडान भर्दै आएका छन्।

वसन्त ऋतुको आगमनसँगै फागुन १५ देखि निजी एयरलाइन्सले पोखरा-जोमसोम हवाई उडान भर्ने गर्छन्। अनुकूल मौसममा उडान सुरक्षित हुने र हवाई यात्रुको चाप पनि बढ्दै जाने भएकाले बर्सेनि निजी एयरलाइन्स कम्पनीले हिउँदको ३ महिना उडान स्थगित गर्ने गरेका हुन्।

मुस्ताङमा पर्यटकीय याममा पोखरा-जोमसोम हवाई सेवा २० वटासम्म उडान हुने गरेको जोमसोम नागरिक उड्डयन कार्यालयको रेकर्डमा उल्लेख छ। पोखरा-जोमसोम हवाई उडानमार्फत दैनिक ३ सयभन्दा बढी पर्यटक आउँछन्।

हवाई सेवा मार्फत बढी मात्रामा भारतीय पर्यटक र त्यसपछि अन्य विदेशी पर्यटक आउँछन्। मुस्ताङमा केही वर्षअघिसम्म उडान भर्दै आएको नेपाल एयरलाइन्सले उडान भर्न सकेको छैन। जोमसोममा नेपाल वायु सेवा निगमको कार्यालय तथा कर्मचारी व्यवस्थापन कायम रहे पनि हवाई सेवा सुरु गर्नेतर्फ ध्यान पुग्न सकेको छैन।

पछिल्लो समय भने राष्ट्रिय गौरवको बेनी-जोमसोम राष्ट्रिय राजमार्ग सडक सहज हुँदै जान थालेपछि पोखरा-जोमसोम हवाई यात्रुको संख्या कम हुँदै जान थालेको हो। हिउँदयाममा मुस्ताङको तापक्रम माइनस हुने र अत्यधिक चिसोका कारण पर्यटकको उपस्थिति निकै कम हुन्छ।

कमेन्ट गर्नुहोस्
Share: