आगोले जलेर गम्भीर घाइते भएका कास्कीका गुरुङको कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन

Share:

काठमाडौँ । पोखरामा एक युवकले पेट्रोल छर्किएर आगो लगाइदिएपछि गम्भीर घाइते भएका कास्कीको मादी गाउँपालिका वडा नं ५ ठूलास्वाँराका ४८ वर्षीय दुर्गाबहादुर गुरुङको निधन भएको छ।

गुरुङलाई बिहीबार राति ११ बजे आफ्नै घर बाहिर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ स्थायी घर भई पोखरा महानगरपालिका वडा नं १३ काँहुखोला बस्ने ३१ वर्षका उमेश राईले पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।

आगोले जलेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। उनलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल हुँदै शुक्रबार बिहान काठमाडौँ लगिएको थियो।

काठमाडौँ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गुरुङको सोमबार निधन भएको बताइएको छ। उनको (आज) बुधबार गाउँमै ल्याएर पुन धर्म संस्कार अनुसार अन्त्यष्टि गरिने बताइको छ।

गुरुङमाथि पेट्रोल छर्किएर आगो लगाइदिएपछि भागेका राईलाई जिल्ला प्रहरी कार्यालय कास्कीसहित मातहतका प्रहरी टोलीले मादी गाउँपालिका वडा नं. ५ सुनपदेँलीस्थित पुरानो स्कुलमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

राईको साथबाट लाइटर, बोत्तल, मोवाईल बरामद भएको थियो। राई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप भइ हाल कास्की प्रहरी हिरासतमा छन्।

कमेन्ट गर्नुहोस्
Share: