
पोखरा । पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को तयारी थालिएको छ। यही पुस १३ देखि १५ सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिंगापुरको १ गरी २० समूहको सहभागिता रहनेछ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा हुने प्रतियोगिताका विजेताले ५ हजार डलर पाउने छन्।
उपविजेतालाई २ हजार डलर, तेस्रो हुने समूहलाई १ हजार २ सय डलर दिइनेछ। प्रतियोगितामा सहभागी बाँकी १७ वटौ समूहलाई ५ सय डलर पुरस्कार प्रदान गरिनेछ।
चीनमा लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा आयोजना गर्न थालिएको हो। गत वर्ष पोखराको फेवातालमा अन्तर्राष्ट्रिय र वेगनासताल राष्ट्रिय स्तरका प्रतियोगिता भएका थिए।
प्रतियोगिताले नेपाल चीनसम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावना खोज्न सघाउने, पोखराका तालहरूलाई आकर्षणका केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा दिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गरे।
चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिले आफूहरू पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र पोखराको पर्यटन प्रवर्धनका लागि विभिन्न खाले कार्यक्रममा सहकार्य गर्न तत्पर रहेको जनाए। नेपाल चीन सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै वाङले पर्यटन, संस्कृति र भौतिक विकासका सन्दर्भमा सहकार्य गर्दै जाने आफूहरूको चाहना रहेको उनको भनाइ छ।
