कास्कीको घलेलमा २६औं ल्होछार उत्सव: भलिबल र घोडा दौड प्रतियोगिता हुँदै

Share:

पोखरा। तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका- ८/९ स्थित घलेलमा २६औं घलेल ल्होछार उत्सव हुने भएको छ।

बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २६औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए।

उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, सामुहिक नृत्य, घोडा दौड लगायतका प्रतियोगिता समावेश गरिएको छ।

अध्यक्ष गुरुङले गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए।

सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ। यसैगरी सर्वोत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने अध्यक्ष गुरुङले बताए।

उनका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागि जनाउन ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ। यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।

टिम दर्ता गर्न शुल्क २५ सय रुपैयाँ तोकिएको खेल संयोजक गणेश बिसीले जानकारी दिए।

उनका अनुसार प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो) सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सहभागी हुन एक समुहलाई ३ हजार दर्ता

शुल्क निर्धारण गरिएको छ। यस्तै, घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ।

खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन्।

मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेष प्रस्तुती दिने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: