जिप दुर्घटना अपडेट: एकको मृत्यु, घाइतेको पोखरामा उपचार जारी

Share:

पोखरा। पोखराबाट घान्द्रुक जाँदै गएको जिप अन्नपूर्ण गाउँपालिका वडा नं १० विकासे डाँडामा दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा मुस्ताङको थासाङ गाउँपालिका वडा नं १ टुकुचेकी ७० वर्षीया भीमकुमारी थकाली रहेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। यद्यपि उनलाई चिकित्सकले मृत घोषणा गर्न बाँकी रहेको छ।

सोही दुर्घटनामा पोखरा महानगरपालिका वडा नं. १६ दीपकी २० वर्षीया रिहाना थकाली, मुस्ताङ थासाङ गाउँपालिका वडा नं १ टुकुचेकी ३१ वर्षीया ज्योती खत्री, बाग्लुङ गलकोट नगरपालिका वडा नं १ झाँक्रीस्थानकी ७६ वर्षीया खीमकुमारी खत्री, सोही स्थानकी ५२ वर्षीष नवीना खत्री छन्।

उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरु सबै खतरामुक्त रहेको बताइएको छ।

सोही गाडीका चालक स्याङ्जा भिरकोट नगरपालिका वडा नं २ डाँडाकोटका ४३ वर्षीय गोबिन्द श्रेष्ठ र बाग्लुङ गलकोट नगरपालिका वडा नं १ झाँक्रीस्थानकी ४० वर्षीया अनिता खत्री सकुशल छन्।प्रहरीका अनुसार ग १ ज ६८२१ नं. को स्कारपियो जीप विकासे डाँडामा पुगेपछि अफ्ठ्यारो सडकका कारण रोकिएको थियो।

चालक श्रेष्ठ र यात्रु अनिता अगाडि सडकको अवस्था हेर्न जानेक्रममा जीप पछाडि गुडेर सडकबाट करिब छ सय मिटर तल भिरमा अड्किन पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरी चौकी घान्द्रुक, प्रहरी चौकी बिरेठाँटी र वडा प्रहरी कार्यालय बगरबाट टोली खटिएर निकै अफ्ट्यारो भिरबाट यात्रुको उद्दार गरी हेलिकोप्टरमार्फत उपचारका लागि पोखरा ल्याइएको हो। चालक श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले
जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: