
काठमाडौँ । काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ। अहिले सिमसिम पानी परिरहेको छ। पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविद्ले बताएका छन्। पानी परेसँगै चिसो बढेको छ।
यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ। सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि यो प्रणालीको प्रभाव पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना छ।
महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ।
आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबारदेखि भने यो प्रणाली केही कमजोर हुँदै जानेछ।
