
पोखरा, ३० असार। कास्की जिल्लालाई बुधबार साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्ला शिक्षा कार्यालय कास्कीले पोखरामा आयोजना गरेको विशेष समारोहबीच शिक्षामन्त्री चित्रलेखा यादवले कास्कीलाई साक्षर जिल्ला घोषणा गरेकी हुन्।
उनले कास्कीलाई साक्षर जिल्ला घोषणागर्दै गर्दा कार्यक्रमका सहभागिहरुले तालि बजाएर समर्थन जनाएका थिए। अनौपचारिक शिक्षा समिति कास्कीको बैठकले साक्षर जिल्ला घोषणा गर्नका लागि मापदण्ड पुगेको निष्कर्ष निकालेपछि बुधबार तामझामका साथ साक्षर जिल्ला घोषणा गरिएको हो।
राजनीतिक दल, शैक्षिक तथा सामाजिक सङ्घ÷संस्था, नागरिक समाज, गैरसरकारी संस्थाको सहयोगका कारण नै साक्षर जिल्ला घोषणा गर्न सम्भव भएको कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले बताए। साक्षर जिल्ला घोषणा गर्नुपूर्व पोखराको चिप्लेढुङ्गाबाट बाजागाजा, झाँकी र विभिन्न सङ्घ÷संस्थाको व्यानर सहित ¥याली निकालिएको थियो। ¥यालीमा राजनीतिक दल, शिक्षक सङ्घ÷संगठन, प्याब्सन÷एनप्याब्सन, जातिय सङ्घ÷संस्था र सामाजिक सङ्घ÷संस्थाको उल्लेख्य सहभागिता रहेको थियो।
असार २६ अघिसम्म कास्कीका गाउँ र वडाहरु, असार २८ गते लेखनाथ नगरपालिका र २९ गते पोखरा उपमहानगरपालिकालाई साक्षर घोषणा गरेपछि कास्कीलाई साक्षर जिल्ला घोषणा गरिएको हो। कास्की १४ औ साक्षर जिल्ला बनेको छ। तीन वर्ष पहिले देखि नै कास्कीका वडा तथा गाउँहरुलाई साक्षर घोषणा गर्न शुरु गरिएको थियो।
नेपाल सरकारको अनौचारिक शिक्षा नीतिले १५ देखि ६० वर्ष उमेर समुहका व्यत्तिहरु ९५ प्रतिशत साक्षर भएपछि ती गाविस÷वडा÷ जिल्लालाई साक्षर घोषणा गर्न सक्ने मापदण्ड तोकेको छ। कास्कीमा १५ देखि ६० वर्ष उमेर समुहका ९६ दशमलब तीन प्रतिशत साक्षर बनेका छन्।
जिल्लालाई साक्षर बनाउनका लागि गाविस तथा वडा कार्यालय र गैर सरकारी संस्थाहरुको सहयोगमा अनौपचारिक कक्षाहरु संचालन गरिएको थियो। सरकारले सन् २०१५(यसैवर्षको पुष १५) भित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ।
साक्षर घोषणा कार्यक्रममा बोल्दै शिक्षा मन्त्री चित्रलेखा यादवले शिक्षा नै धन भएको बताईन्। उनले शिक्षाको महत्व र गरिमालाई सवैले बुझ्न जरुरी भएको बताउँदै शिक्षालाई सवैले दायित्व र जिम्मेबारी सम्झनुपर्ने उल्लेख गरिन्। शिक्षामन्त्री यादवले राजधानीमा संचालित बुढानिकलण्ठ स्कुलको उदाहरणदिदै बुढानिलकण्ठमा जस्तै पढ्न र पढाउन चाहने खालको हुने गरी सरकारले आवासिय विद्यालयहरुको व्यवस्था गर्न चाहेको उल्लेख गरिन्।
बजेटमा त्यस्ता आवासिय विद्यालयको व्यवस्था गर्ने उल्लेख गरिएको छ उनले भनिन् – त्यस्ता विद्यालयले गरिव विद्यार्थीको पहुँचलाई पनि सुनिश्चित गर्ने छ। उनले गुणस्तरीय शिक्षाका कारण नै विकसीत देशहरु बन्न सम्भव भएकोभन्दै शिक्षा नै सम्पूर्ण विकासको महत्वपूर्ण हतियार भएको बताईन्।
शिक्षा मन्त्री यादवले ज्ञान नै ठुलो शक्ति भएको र अक्षरको चिनारीबाट ज्ञान प्राप्त हुनेभन्दै अक्षरमा ठुलो शक्ति भएको चर्चा गरिन्। स्वास्थ्य मन्त्री खगराज अधिकारीले साउन महिनाभित्रमा नै संविधान बन्ने उल्लेख गरे। संविधान बन्न नदिनका लागि प्रयास भैरहेपनि त्यस्तो प्रयास कुइनाले पहरासँग टक्कर लिए जस्तै हुन उनको भनाई छ।
उनले पोखरा असुरक्षित छ भनेर भ्रामक प्रचार गरिएको बताउँदै त्यस्ता भ्रामक प्रचार विरुद्व पोखरेलीहरु एकजुट हुनुपर्ने बताए। पोखरा र आसपासका सवै पर्यटकीय क्षेत्रहरु सुरक्षित छन् उनले भने – तर पोखरालाई असुरक्षितभन्दै गतल प्रचार गरिएको छ। सरकारले पोखराको विकासका लागि बृहत्तर गुरु योजना अघि सारेको बताउँदै गुरु योजनामा पोखरामा रहेका तालहरुको संरक्षणमा विशेष प्राथमिकता दिइएको बताए।
शिक्षा सचिव विश्वप्रकाश पण्डितले साक्षरसँगै आर्थिक विकास अघि बढ्ने बताए। उनले कास्की जिल्ला गरिवी कम भएको जिल्लाका रुपमा परिचित रहेको बताउँदै साक्षर जिल्ला भएपछि मानव विकास सूचांकमा पनि अघि बढेको बताए।
अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले पैसाले नभई प्रतिवद्वताका कारण साक्षर जिल्ला बन्न सम्भव छ भन्ने प्रमाणित कास्कीले गरेकोभन्दै प्रशंसा गरे।
कार्यक्रममा नेपाली काङ्ग्रेका नेता शुक्रराज शर्मा, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एनेकपा माओवादी कास्कीका गङ्गा पोखरेल, राप्रपाका नरहरि तिमिल्सिना, नेकपा – माओवादीका सूर्यबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर के.सी लगायतले बोलेका थिए।
कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रको तर्फबाट जिल्ला शिक्षा कार्यालय कास्कीलाई पाँच लाख रुपैया प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले स्वागत, सहायक जिल्ला शिक्षा अधिकारी केदारराज आचार्य र संचारकर्मी दिपेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।
पोखराका चार पत्रकार सम्मानित
कास्कीलाई साक्षर जिल्ला बनाउने अभियानमा सहयोग गर्ने विभिन्न व्यत्ति तथा सङ्घ संस्थाहरुलाई सम्मान गरिएको छ। कार्यक्रममा पोखराका चार जना पत्रकारलाई पनि सम्मान गरिएको छ। साक्षर अभियानको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पु¥याएकोभन्दै पत्रकारहरुलाई सम्मान गरिएको हो।
यसरी सम्मानित हुने पत्रकारहरुमा दिपेन्द्र श्रेष्ठ, नवीन सिग्देल, शुष्मा पौडेल र दुर्गा अधिकारी छन्। शिक्षामन्त्री चित्रलेखा यादव, स्वास्थ्यमन्त्री खगराज अधिकारी, शिक्षा सचिव विश्वप्रकास पण्डितले उनीहरुलाई सम्मान पत्र सहित माला र खादा लगाईदिएर सम्मान गरेका थिए।
त्यसअवसरमा कास्कीका २७ सामुदायिक अध्ययन केन्द्र र दर्जनभन्दा बढि गैर सरकारी संस्थाहरुलाइ पनि सम्मान गरिएको थियो।
ती संस्थाहरुलाई शिक्षा सचिव पण्डित, क्षेत्रीय शिक्षा निर्देशक बैकुण्ठप्रसाद अर्याल र कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले सम्मान गरेका थिए।
न्युज तथा तस्विरः नविन सिग्देल
