
काठमाडौँ । पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ। तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो।
तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका रहेको बताएका छन्।
बरमल जिल्ला दक्षिण बजिरिस्तानको वाना र रजमक क्षेत्र नजिक पर्दछ। तालिबान अधिकारीहरुका अनुसार वजिरिस्तानाका शरणार्थीहरुलाई निशाना बनाइएको छ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहितले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार पकतिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको थियो। आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको बताइएको छ।
तालिबान सरकारको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी आक्रमणको निन्दा गरेको छ र उजित जवाफ दिने चेतावनी दिएको छ। उसले भनेको छ, ‘पाकिस्तानी सेनाले बजिरिस्तानका शरणार्थीहरुमाथि अन्तराष्ट्रिय नियमको उल्लंघन गरेर बर्बर आक्रमण गरेको छ। यस क्रूर आक्रमणको जवाफ दिइने छ।’
