माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स : टेनिस आरव र सुनिरा च्याम्पियन

Share:

पोखरा। पोखरामा सम्पन्न २१औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत सम्पन्न प्रतियोगितामा आरव सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन्।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्दी प्रनव मानन्धर र सुनिरा थापाले सलोनी तामाबलाई पराजित गर्दै च्याम्पियन बनेका हुन्।

मेन्स सिंगल्सतर्फको फाइनलमा आरवले प्रनवलाई ६–१, ६–१ ले पराजित गर्दा सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे। च्याम्पियन भएका दुबैले समान नगद रु ८०–८० हजार प्राप्त गर्दा उपविजेताले जनही नगद रु ४०–४० हजारका साथमा ट्रफी प्राप्त गरेका छन्।

यस्तै ३५ वर्षमाथिको सिंगल्समा पूर्व नं १ जितेन्द्र परियारले प्रतिद्वन्दी सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएका छन्।

जितेन्द्रले ट्रफीका साथ रु ६० हजार र उपविजेता सन्तोषले नगद रु ३० हजारका साथमा ट्रफी हात पारे। ४५ वर्ष माथीको सिंगल्स फाइनलमा कमल भण्डारी विजेता बनेका छन्। उनले रोहित सुनुवारलाई ६–०, ६–२ ले पराजित गरे।

विजेताले नगद ४० हजार तथा उपविजेता रोहितले २० हजारसहित ट्रफी प्राप्त गरे, भने ५५ वर्षमाथि फाइनल प्रतिस्पर्धामा चन्द्र शाही विजयी भए। उनले जीवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे। चन्द्रले नगद ३० हजार उपविजेता जीवनले १५ हजार नगदसहित ट्रफी प्राप्त गरे।

विजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका संस्थापक तथा केसी ग्रुपका डाइरेक्टर किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ प्रतियोगिताका प्रायोजक संस्थाका प्रतिनिधीहरु, प्रतियोगिताका संयोजक नविन चालिसे, संघका कोषाध्यक्ष विष्णु बहादुर थापा, सचिव भिष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरेका थिए।

समापन कार्यक्रम संघका अध्यक्ष राजकुमार गुरुङ (राजु) को अध्यक्षतामा भएको थियो। यहि पौष ११ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १ सय ४० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए।

यसैबिच प्रतियोगितामा विजेता भेट्रान्स खेलाडीहरुले प्रतियोगिताका लागि खटिएका बल ब्वाईहरुलाई आफूले प्राप्त गरेको नगद राशी हस्तान्तरण गरेका छन्।

नगद सहयोग हस्तान्तरण गर्नेहरुमा उत्तम कुमार शेर्पा, जित प्रधानले समान नगद रु १०–१० हजार, हेमराज ढकालले १० हजार, मनोज राणाले ७ हजार ५ सय तथा जोलिटार्जनले २ हजार ५ सय जुनियर टेनिस सन्दीप विकलाई प्रदान गरे।

प्रतियोगितामा खेल्छ गण्डकी कार्यक्रम अन्तर्गतका १२ जना खेलाडीहरु बल व्वाईको रुपमा खटिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: