
रञ्जन अधिकारी पोखरा, १ साउन / जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७१÷७२ मा दुई करोड बढि राजस्व संकलन गरेको छ । २०७१ साउनदेखि २०७२ असार मसान्तसम्म सवारी कारबाहीबाट दुई करोड १८ लाख २६ हजार दुई सय रुपैंया राजस्व संकलन भएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक श्यामु अर्यालले जानकारी दिए । यो आ.व.मा उठेको राजस्व हालसम्मकै सबैभन्दा धेरै हो । त्रिवर्षिय आँकडा तुलना गर्दा २०६८÷६९ भन्दा करीब तेब्बर राजस्व संकलन भएको छ । सो वर्ष ७७ लाख ७५ हजार तीन सय ५०, आ.व. २०६९÷७० मा एक करोड २८ लाख २८ हजार सात सय रुपैंया उठेको थियो भने २०७०÷७१ मा एक करोड ४६ लाख ७३ हजार चार सय रुपैंया संकलन भएको थियो ।
अर्यालले पछिल्लो चार महिना प्रतिमहिना २० लाख बढि राजस्व संकलन भएको जानकारी दिए । उनले गत माघदेखि प्रमुखको जिम्मेवारी सम्हालेका थिए । फागुनमा २० लाख ५० हजार नौ सय, चैतमा दुई लाख १२ हजार एक सय, जेठमा २० लाख २५ हजार दुई सय र असारमा सर्वाधिक २३ लाख दुई हजार संकलन भयो । प्रमुख अर्यालले वैशाखमा विनाशकारी भुकम्पका कारण २० लाख कम संकलन अर्थात् १८ लाख ३२ हजार चार सय संकलन भएको जनाए । अर्याल प्रमुख हुनु अघि महिनामा २० लाख राजस्व उठ्न नसकेको आँकडामा देखिन्छ । राति चेकिङ तथा पटक पटक सवारी नियम उल्लंघन गर्ने, मापसे सेवनकर्तालाई कडाई गरिएकाले आफू प्रमुख भएपछि राजस्व बढि उठेको उनले जनाए । ‘चेकजाँच कडाई ग¥यौं । नियम उल्लघंन गर्ने सार्वजनिक सवारीहरुमाथि पनि कारबाही तीब्र बनायौं ।’ उनल थपे– ‘यसले गर्दा सवारी दुर्घटनाको संख्या कम हुनछ र मानिसहरुले पनि दुर्घटनाका कारण अनाहकमा ज्यान गुमाउन बाध्य हुनेछैन ।’
वर्षभरको आँकडा हेर्दा सबैभन्दा बढि मोटरसाईकल चालक कारबाहीमा परेका छन् । यस वर्ष ६८ हजार एक सय सवारी कारबाहीमा परे । त्यसमध्ये ३२ हजार पाँच सय ७९ मोटरसाईकल छन् । कारजीपको संख्या १३ हजार तीन सय ३७, बसको संख्या १० हजार नौ सय १४, ट्रकको संख्या आठ हजार सात सय ९० र ट्याक्टरको संख्या दुई हजार चार सय ८० रहेको छ । वर्षभर १२ महिनामध्ये असारमा सबैभन्दा बढि अर्थात् सात हजार ६ सय सवारीलाई कारबाही गरिएको थियो । गत वर्ष यस वर्ष भन्दा १३ हजार कम अर्थात् ५५ हजार छ सय सवारी कारवाहीमा परेका थिए ।
मादक पद्धार्थ सेवनकर्तालाई कारबाही गर्दा आ.व. २०७१÷७२ मा १९ लाख ७० हजार राजस्व संकलन भएको छ । कूल १९७० जना कारबाहीमा परेका हुन् । मापसे गरेर सवारी चलाएमा एक हजार जरिवाना, प्रत्येक पटक लाईसेन्समा एउटा प्वाल र एक घण्टा प्रशिक्षण लिनुपर्ने हुन्छ । मापसे गरेर सवारी चलाउने १९७० मोटरसाईकल चालक, १७३ कार चालक, ८३ जना ट्याक्टर चालक, ७८ जना ट्रक चालक र ६६ जना बस चालक कारबाहीमा परे । गत आ.व. मा मापसे कारबाहीबाट १५ लाख ९८ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दियो ।
गत वर्षकै हाराहारीमा सवारी दुर्घटना भएपनि मृतकको संख्या भने वृद्धि भएको छ । यस वर्ष ८७ दुर्घटना भएकोमा ४१ जनाको मृत्यु भयो । यसमध्ये ३२ पुरुष, सात महिला र दुई जना बालक छन् । गत फागुन २२ गते सराङकोट सौर्यनीधारामा भएको बस दुर्घटना वर्षकै सबैभन्दा ठूलो हो । फागुनमा मात्रै वर्षमा सबैभन्दा बढि आठ जनाको मृत्यु भएको थियो । सो महिना गम्भीर घाईतेको संख्या ५३ छ । यो वर्ष ५९ मोटरसाईकल दुर्घटना भए भने २३ बस, २२ कार÷जीप, १२ ट्रक तथा आठ ट्याक्टर दुर्घटना भएका थिए । गत वर्ष ८७ पटक नै दुर्घटना भएपनि मृत्यु हुनेको संख्या ३६ थियो । त्यसभन्दा अघिल्लो वर्ष ४७ ओटा मात्रै दुर्घटना भएकोमा मृतकको संख्या २४ थियो । आव २०६८÷६९ मा ७१ दुर्घटना भएकोमा ५१ जनाले ज्यान गुमाए ।
दुर्घटना न्युनिकरणका लागि जनचेतना तथा ट्राफिक प्रशिक्षण सम्बन्धी तालिम पनि आयोजना गर्दै आएको प्रमुख अर्यालले जानकारी दिए । यस वर्ष कूल १६५ पटक प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । यसबाट पाँच हजार छ सय १२ जना चालक, विद्यार्थी तथा सर्वसाधारण लाभान्वित भएको उनले बताए । मुख्य सडक छेउका स्थानीयवासीलाई बाटो काट्ने लगायत सम्बन्धमा प्रशिक्षण, विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक चिन्ह तथा सवारी नियम सम्बन्धमा, सुरक्षित चालक बनाउन विभिन्न कक्षाहरु, परिचालकहरुलाई सवारी नियम सम्बन्धमा लगायत पर्चा पोष्टर पम्प्लेट वितरणका कार्यहरु गरिएको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका प्रहरी नायव निरीक्षक राजेन्द्र कार्कीले जानकारी दिए ।
‘भवितव्य दुर्घटनाहरु टारेर टर्दैन तर चालकको कमजोरी वा प्राविधिक कारणले नहोस् भनेर हामीले पहिले नै सजग गराउने हो । सक्दो गरिरहेका छौं ।’ ट्राफिक प्रमुख अर्यालले भने । उनले आफ्नो पहिलो प्राथमिकता नै पार्किङ व्यवस्थापनलाई दिएको बताउँदै जनचेतना कार्यक्रममा पनि मिडिया, सामुदायिक प्रहरी सेवासँग समन्वय गर्दै अघि बढेको बताए । सडक डिभिजन कार्यालय, पोखरा उपमहानगरपालिकासँग मिलेर जेब्रा क्रसिङ, छाडा चौपाया व्यवस्थापन, नो पार्किङ जोन, संकेत बोर्ड राख्ने काम भएको उनले बताए ।
उपमहानगरपालिकाले समेत पार्किङ व्यवस्थापन भन्दै अन्य कम्पनीलाई ठेक्का दिएपछि शुल्क तिर्नुपर्ने भएपछि सवारी चालकहरु फुटपाथमै सवारी पार्किङ गर्ने पनि गर्छन् । पृथ्वी राजमार्ग, स्याङजा तथा बाग्लुङ सडक जोडिएको पोखरामा अपर्याप्त जनशक्तिका बाबजुत ट्राफिक प्रहरी कास्कीको कामकारवाही सन्तोषजनक नै मानिएको छ । किनभने, गत फागुन ३ गते कास्की जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पत्रकारमाझ एसपी हरिबहादुर पालले पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय, पोखरामा नयाँ प्रमुख भएर आएका डिआईजी पंकज श्रेष्ठले दुई हप्ताको समयसीमा दिएर श्यामु अर्याललाई जिम्मेवारी दिईएको नै खुलासा गरेका थिए । यस समयावधिमा ट्राफिक समस्या देखिने पृथ्वीचोक लगायतका क्षेत्रमा सुधार आएको देखिन्छ ।

