
पोखरा। पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले वातावरण संरक्षण सम्बन्धि अन्तरराष्ट्रिय सन्धि-महासन्धिहरु पारित भएको भए पनि कार्यान्वन नगरेकोमा असन्तुष्टि प्रकट गरेका छन्।
शुक्रबारदेखि पोखरामा सुरु भएको प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सरकारप्रति असन्तुष्टि प्रकट गरेका हुन्।
अभियानका पूर्व केन्द्रीय अध्यक्ष उत्त्तम कंडेलले व्यापक वायु प्रदुषणका कारण दक्षिण एशिया मानिसहरुका लागि घातक भैरहेको जिकिर गर्दै यसरी नै वातावरणमाथि खेलवाड हुँदै गएमा जीवनमाथि पनि संकट पर्ने चेतवानी दिए।
मानव र प्रकृतिको रक्षाका लागि राज्यबाट मात्र भर पर्न सक्ने अवस्था नरहेको बताउँदै कंडेलले प्रकृति र मानवको रक्षाका लागि उपयुक्त नीतिको आवश्यकता रहेको कुरामा जोड दिए।
अभियानका उपाध्यक्ष राजन केसीले नेपाल जस्ता साना मुलुकहरुले थोरै कार्बन उत्सर्जन गरेको भए पनि ठुला र विकासित देशहरुले ठुलो मात्रामा उत्पादन गरेका कार्बनको पीडा भोग्नु परेको बताए।
सरकारले विभिन्न खाले सन्धि-महासन्धिहरु पारित गरेको भए पनि मानव र प्रकृति बचाउने खालका कुनै कार्यहरु नगरेको गुनासो गरे।
उनले राज्यले वातावरण संरक्षणक पक्षमा कुनै काम नगरेको अवस्थामा अब जनता र निजि क्षेत्र प्रकृति र मानवको रक्षाका लागि लाग्नु पर्ने कुरामा जोड दिए।
शनिबारसम्म चल्ने उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ भने वातावरण तथा प्रकृति संरक्षण सम्बन्धमा बिबिध प्रस्ताबहरु पारित गर्ने अभियानका पूर्व अध्यक्ष सन्त बहादुर घिसिङले जानकारी दिए।
सम्मेलनको उद्घाटन पूर्व आज बिहानै उक्त अभियानले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो।
