
पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीमा ४१औँ खेलकुद दिवस समापन भएको छ।बिहीवारदेखि विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद समापन समारोहलाई गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समापन गरे।
समापन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका खेलकुद मन्त्री थापाले हाम्रो सामाजिक र राष्ट्रिय आवश्यकतालाई मध्यनजर राख्दै शिक्षणपद्धतिको विकास गर्न नसकिएकाले देशमा बेरोजगारीको सङ्ख्या बढेको र त्यसैका कारण प्रतिभा पलायनको समस्याले तीव्रता पाइरहेको बताए।
‘धेरै अभिभावकविहीन बालबालिकाहरूको संरक्षण, लालनपालन र शिक्षादीक्षाको यथोचित व्यवस्था गर्दै आइरहेको एसओएसजस्तो परोपकारी संस्थालाई सबै पक्ष मिलेर अगाडि बढाउनुपर्छ।’ मन्त्री थापाले भने, ‘प्रदेशको शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका धेरै क्षेत्रको जिम्मेवारी वहन गर्दै आइरहेको मन्त्रालय भएका नाताले प्रदेशको सीमित स्रोत र साधनका बाबजुत एसओएसजस्तो मानवतावादी संस्थालाई सहयोग गर्नु हाम्रो जिम्मेवारी हो। आगामी वर्षको बजेटमा एसओएसलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम वृद्धि गर्ने विषयमा प्रदेश सरकार दृढ छ।’
उनले खेलकुदमा विद्यार्थीद्वारा प्रदर्शन गरिएको प्रतिभाको प्रशंसा गरे। एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा भएको समारोहमा प्रधानाध्यापक चूडामणि सुवेदीले अभिभावक गुमाएका र गुमाउने जोखिममा रहेका बालबालिकाको संरक्षण गर्दै आएको विद्यालयले बर्सेनि उत्कृष्ट नतिजा प्राप्त गरी नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको जनाए।
सार्वजनिक गुठीअन्तर्गत सञ्चालित एसओएस गण्डकीले गुणस्तरीय शिक्षाका अलावा खेलकुदलाई पनि उत्तिकै जोड दिँदै अएके छ। एसओएस बालग्राममा परियोजना निर्देशक आचार्यले खेलकुदमा विद्यार्थीले प्रदर्शन गरेको प्रतिभाको प्रशंसासहित खेलकुद समारोहलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरूका बीचमा विभिन्न दूरीका दौड, रिले दौड, हाइजम्प, लङजम्प, स्याक रेस, सर्ट पुट, स्लो साइकलिङ, टग अफ वार लगायतका अन्तरसदनात्मक खेल भएका छन्। शिशुकक्षाका विद्यार्थीबिच रिले रेस, बल पिक रेस, स्विट रेस, म्युजिकल चियर, बेलुन ब्रस्ट गेम, ओरेन्ज रेस, पेपर रिले लगायतका खेल आयोजना भए।
खेलकुद समारोहमा विद्यालयमा गठित ४ सदनमा आबद्ध विद्यार्थीले राष्ट्रिय गीतको धुनमा सुसज्जित विशेष मार्च पास्डका साथै विविध लोकसांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयमा गठित राष्ट्रिय सेवा दलमा आबद्ध विद्याथीको खुकुरी ड्रिल पनि प्रदर्शन गरिएको थियो।
समारोहमा अभिभावकबिच म्युजिकल चियर प्रतियोगितासमेत आयोजना भयो भने शिक्षकहरूका बीचमा प्रतियोगितात्मक टग अफ वार गरियो। खेलकुदमा विद्यालयको धौलागिरि सदन यस शैक्षिक सत्रको विजेता सदन बन्न सफल भयो भने अन्नपूर्ण सदन उपविजेता बन्यो। माछापुच्छ«े उत्कृष्ट मार्चपास्ड प्रस्तोता तथा गौरीशंकर सर्वाधिक अनुशासित सदन घोषित भए। कक्षा ११ र १२ तर्फ धौलागिरी सदन विजेता तथा गौरीशंकर सदनले उपविजेताको उपाधि पाए।


