लन्डन ओटुमा गुन्जिए पोखरेली ब्याण्ड कन्दरा र स्वप्न सुमन

Share:

पोखरा। पोखरेली ब्याण्ड कन्दराले शनिबार लन्डनको विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा ऐतिहासिक कन्सर्ट गरेको छ।

नेपालीका विरलै कार्यक्रम हुने उक्त भेन्यूमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ संगीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पारे।

कन्दराले ब्याण्ड स्थापनाको ३२ वर्षको इतिहासमा ओटु सांझलाई ‘अविष्मरणीय’ भनेको छ। उसले यही स्टेजमा आफ्नो ३२ औं वार्षिकोत्सव समेत मनायो।

ओटुमा कन्दरा गुन्जिंदा झण्डै २८ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ। सो अवसरमा गायक श्रेष्ठले झण्डै डेढ दर्जन नयां पुराना गीत गाए।

गायक श्रेष्ठले तगारोमा रुमाल, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, विदेशिनु लेखियो कर्मैमा हङकङ पोखरा, तिमी हाँसे हासिदिउंला रोए फकाउंला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, सांग्रीलाको लेक भरी फुलैफुलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा हिउं, चन्चले कान्छीको, कहाँ हिंडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भको दिन जस्ता गीत सुनाए। उनले हरेक गीतम गाउंदा दर्शकले वान्स मोर भनिरहेका थिए।

गायक श्रेष्ठले गोपाल योन्जनको धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई समेत गाएर बेलायतका नेपालीलाई नेपाल फर्कन आग्रह गरे।

‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत कन्दराले लन्डनमा गरेको पहिलो विदेशस्थित कन्सर्ट हो।

कमेन्ट गर्नुहोस्
Share: