
पोखरा। पोखरामा नेपाली प्रशिक्षकले स्काइ डाइभिङ सुरु गरेका छन्। विभिन्न मुलुकमा स्काइ डाइभिङमा काम गरी अनुभव लिइसकेका युवाले स्काइ डाइभिङ थालेका हुन्। यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यस पटक नेपाली टोलीले मात्रै स्काइ डाइभिङ गराउने छन्। सिम्रिक एयर र इन स्काइ डाइभ कम्पनीले पोखरामा स्काइ डाइभिङ सुरु गरेका हुन्।
शुक्रबारदेखि २१ जनवरीसम्म स्काइ डाइभिङ हुने इन स्काइ डाइभ कम्पनीका सञ्चालक तथा प्रशिक्षक एलिश थापाले जानकारी दिए। यस अवधिमा स्काइ डाइभिङ गर्नका लागि कम्पनीले भिआइपी र डिलक्स गरी २ प्याकेज बनाएको थापाले बताए। भिआइपीको १ लाख १५ हजार रूपैयाँ र डिलक्सको ९५ हजार रूपैयाँ पर्ने उनले जानकारी दिए।
विदेशीलाई भने थप ५ हजार लाग्ने उनले बताए। स्काइ डाइभका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ। स्काइ डाइभका लागि पोखरा विमानस्थलबाट हेलिकप्टर उडान गरी पोखरा- २३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्ने छन्।
माथिबाट डाइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन्। यो कार्यक्रमपछि यात्रुको माग आएमा कम्पनीले नियमित रुपमा स्काई डाइभिङ गराउने योजना बनाएको थापाले बताए।एलिसलाई सुवास थापा, मनिष हिराचन, आशीष थापा र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिएका छन्।
