सुदूरपश्चिम प्रदेशमा ‘नरहरि’ पर्व मनाइदैँ, आज देशभर सार्वजनिक बिदा

Share:

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइदैँछ। माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ। माघे संक्रान्ति पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।

नरहरिमा चामल भिजाएर मसिनो पारी पिसेको पिठोलाई पानी हालेर पालतो, सेल पकाउनका लागि चाहिने जस्तै घोल बनाउने, तातो तावामा अलिकति घ्यू राखेर त्यो चामलको घोल हाल्ने, पातलो भन्दा पातलो हुने गरी लेस्दै जाँदा लगभग डोसाको बाहिरी भागजस्तो हुने गरी वर्काईफर्काई पकाउने गरिन्छ। त्यसरी पकाएको रोटीलाई माडा भनिन्छ।

कागलाई माडा, सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन रहेको छ। पुसको अन्तिम साँझ अथवा पुस मसान्तमा सुदूरपश्चिमेली भाषामा माडा अर्थात् सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने चलन छ।

पुसको अन्तिम साँझ पकाएका खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरेर ‘का कौवा का, मेरो रोटी खा’ भन्दै कागलाई बोलाई खुवाउने गरिन्छ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन्। त्यस्तो विवरण ल्याउने र लैजाने काम कागले गर्ने मान्यता रहेको छ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ।

कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गर्ने चलन रहेको छ। भोली अर्थात् माघ १ गतेका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने गरिन्छ।

कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रुपमा लिइन्छ। कागले पुस १५ गते तीर्थस्थलमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ।

काग अत्यन्तै चलाखसँगै सर्वभक्षी प्राणी हो। कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ। यसले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा र सबै प्रकारका फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा पनि लिइन्छ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको त्यहाँका स्थानीयहरु बताउँछन्। कागले लगेर लुकाएको रोटीलाई ब्याउने गाईलाई खुवाए बाच्छाबाच्छी सप्रिने विश्वास समेत रहेको छ।

माघमा माछा मासु खानु हुँदैन भन्ने चलन पनि पुस्तौंदेखि चलिआएको छ। पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन अनुसार यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ।

सुदूरपश्चिममा काम विशेषले बाहिर रहेकाहरु माघे सङ्क्रान्ति नरहरी पर्व मनाउन घर फर्किने गर्छन भने विवाहित महिला माइतीघर जाने चलन रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: