
काठमाडौँ। चिसो बढेसँगै तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम बढेको छ। बिहान अबेरसम्म हुस्सु र कुहिरो लाग्दा बढी चिसो हुने गरेको छ।
कतिपय दिनमा दिनभर पनि घाम नलाग्दा चिसो झन् धेरै हुने गरेको छ। यस्तो अवस्थामा तराई भूभागको जनजीवन नै प्रभावित हुने गरेको छ।
सरकारले हुस्सु कुहिरोबाट सुरक्षित रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तराईका भूभागमा हुस्सु र कुहिरो रहेकाले यसबाट जोेगिन अनुरोध गरेको छ।
चिसोबाट बच्न शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउन मन्त्रालयले आग्रह गरेको छ।
बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई चिसोबाट बचाउन विशेष ख्याल गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ।
“आमाको दूध खाने बच्चालाई नियमित रूपमा स्तनपान गराऔं । तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गरौँ। धूमपान तथा मद्यपान नगरौँ,” मन्त्रालयले भनेको छ।
स्वास्थ्य सम्बन्धी कुनै समस्या जस्तैः ज्वरो आएमा, झाडा पखाला लागेमा, दम बढेमा, खोकी लागेमा, घ्यारघ्यार भएमा, श्वास फेर्न कठिनाई भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ।
सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला व्रिकेट आदि बालेर झ्याल ढोका बन्द गरेर नसुत्न पनि मन्त्रालयले सचेत गराएको छ।
यदि, त्यसो गरेमा श्वास फेर्न नसकी निसासिएर मृत्यु समेत हुनसक्ने मन्त्रालयले जनाएको छ।
आगो बालेको ठाउँमा बच्चालाई एक्लै नछोड्न पनि मन्त्रालयले सचेत गराएको छ।
कोठा न्यानो पार्नुपर्ने तर पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था भने गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
