पोखरा महोत्सवमा दर्शकको भीड, स्टलहरुमा व्यापार बढ्दै

Share:

पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ।

गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिन सम्म आइपुग्दा दर्शकको भीड बढ्दै गएको आयोजक युनाईटेड क्लबका महासचिव तथा महोत्सव प्रचार-प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।

सुनारका अनुसार महोत्सव अन्त्य अन्त्यतिर आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको भीड बढ्दै गएको हो ।

महोत्सवमा दर्शकको उपस्थितिसँगै महोत्सवमा राखिएको स्टलहरुमा समेत व्यापार बढ्दै गएको महोत्सवका अर्थ तथा स्टल व्यवस्थापन समिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार महोत्सवमा विशेष गरी घरायसी सामाग्री, कृषि र जाडो यामका लत्ता कपडा किन्नेको भीड लागेको छ।

महोत्सवमा शुक्रबार चर्चित दोहोरी गायक श्याम राना मगरको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरन्जन लिए।

श्याम रानासँगै शुक्रबार महोत्सवमा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, सरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगरको लोक दोहोरी प्रस्तुतिमा दर्शकहरुले मनोरञ्जन लिए।

त्यसैगरी हाँस्य ब्यंग्यतर्फ पुर्खे बाको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए भने साँझको लाईभ कन्सर्ट तर्फ रक हेड्सको प्रस्तुतिमा युवाहरुले भरपुर मनोरञ्जन लिएका थिए।

महोत्सवमा आयोजित विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको छ।

बेसलाइन, अमरसिंह मावि, ज्ञानगंगा र पोखरा युनाईटेड एकेडेमीबीचको प्रतिस्पर्धामा बेसलाइन एकेडेमी फाइनलमा प्रवेश गरेको हो।

महोत्सवको दशौं दिन लोकदोहोरी तर्फ शान्तारानी परियार, प्रजापति पराजुली, चालेन्द्र पौडेल, राजन कार्की, तुलसा क्षेत्री, शिवहरी ढुंगाना, माया गुरुङ, बत्ती थापा मगर लगायतको प्रस्तुति रहने महोत्सवका कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

तिमिल्सनाका अनुसार साँझको लाइभ कन्सर्टमा युवाहरु माझ चर्चित भीटेनको प्रस्तुति रहने छ ।

कमेन्ट गर्नुहोस्
Share: