
पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतिमा पाखरेलीहरुले भरपुर मनोरञ्जन लिएका छन्। महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत प्रस्तुतिमा युवाहरु झुमेका हुन्।
रचनाले उनको प्रीति, फोटो फिरिममा, मिनरल वाटर, चाहान्छु, तिमी त पोखरेली, ढुंगेधारालगायत एक दर्जनभन्दा बढी गीत प्रस्तुतिमार्फत दर्शकहरुलाई नचाएकी थिइन्।
त्यसैगरी साँझको लाइभ कन्सर्ट तर्फ पूर्ण राई एण्ड दाजुभाईको प्रस्तुतीमा युवाहरु झुमेका थिए।महोत्सव समापनतिर आइपुग्दा महोत्सवमा दर्शकको चाप बढ्दै गएको छ।
महोत्सवमा दर्शकको चापसँगै महोत्सवमा राखिएको स्टलहरुमा व्यापार बढ्दो मात्रामा रहेको महोत्सव अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए।
महोत्सवको अन्तिम दिन लोकदोहोरी तर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
तिमिल्सिनाका अनुसार साँझको लाइभ कन्सर्टतर्फ जेम्सीको प्रस्तुति रहने छ। महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिताको समेत सोमबार फाइनल प्रतिस्पर्धा हुनेछ।
फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, विभुति र सरस्वती विद्या सदन लामाचौर बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए।
महोत्सवको सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा अपराह्न्न ३ बजे विशेष समारोहका बीच समापन गरिने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए।
