
काठमाडौं, श्रावण ८ / विश्वका प्रत्येक १० मध्ये एकजना खेलाडीले प्रतिबन्धित शक्तिबद्र्धक औषधि प्रयोग गर्ने गरेको एक अध्ययनले देखाएको छ । विश्व ‘एन्टी डोपिङ’ एजेन्सी वाडाका प्रमुख डेभिड हाउम्यानले झन्डै १० प्रतिशत व्यवसायिक खेलाडी विश्व खेलकुदका निकायलाई छलेर डोपिङमा संलग्न भइरहेको खुलासा गरेका हुन् ।
यसरी डोपिङमा संलग्न हुनेहरुमध्ये हरेक ५ जनामा ४ जना खेलाडी डोपिङ परीक्षणबाट उम्कने गरेको पनि उनले बताए । व्यवसायिक खेलाडीभन्दा पनि युवा तथा जुनियर खेलाडीमासमेत डोपिङको मोह बढ्दै गएको उनले बताए ।
विश्व खेलकुदमा बढ्दो व्यवसायिकताले खेलाडीलाई आकर्षित गराउने हुँदा छिट्टै व्यवसायिक खेलाडी बन्ने आशामा जुनियर खेलाडीले बाटो बिराउँदै गएको बताइएको छ ।
युवा खेलाडीहरुमा बढ्दो डोपिङ मोह विश्व खेलकुदकै लागि खतरनाक रहेको वाडा प्रमुखको बुझाइ छ । उनले अबको ५ वर्षभित्र खेलकुदमा हुने डोपिङलाई अपराधको रुपमा हेर्न सकिनेसमेत बताए ।
