
काठमाडौँ। भारतको प्रयागराजमा २९ पुसदेखि सुरु भएको महाकुम्भ मेलामा हरेक दिन १ करोडका दरले दर्शनार्थी आइरहेका छन् ।
उत्तरप्रदेश सरकारको महाकुम्भ व्यवस्थापन समितिका अनुसार महाकुम्भ सुरु भएको ९ दिनमा ९ करोड तीर्थालु प्रयागराज पुगेका छन् ।
प्रयागराजस्थित गंगा र यमुना नदी संगमस्थलमा हरेक १२ वर्षमा कुम्भ मेला लाग्ने गर्छ। यमुना नदीमा सरस्वती नदी पनि मिसिएर आउने विश्वास साथ प्रयागराजलाई तीन नदीको संगम अर्थात् त्रिवेणीका रूपमा लिने गरिन्छ।
हरेक १२ वर्षमा यस ठाउँमा नुहाउँदा पाप नष्ट हुने विश्वास छ। पौराणिक कालमा भएको समुद्र मन्थनबाट निस्केको अमृतको थोपा प्रयागराजमा पनि खसेको विश्वास गरिन्छ। सोही कारण कुम्भ मेलामा यहाँ करोडौं मानिस नुहाउन पुग्ने गर्छन्।
यो सालको महाकुम्भलाई १ सय ४४ वर्षमा आउने महाकुम्भका रूपमा पनि चित्रित गरिएको छ। सोही कारण यस वर्ष ४५ करोड तीर्थालु यहाँ आउने अपेक्षा भारतको विदेश मन्त्रालय तथा उत्तर प्रदेश सरकारले गरेका छन्। तीमध्ये १५ लाख विदेशी पर्यटक महाकुम्भमा सहभागी हुने अपेक्षा भारत सरकारको छ। यसलाई संसारकै सबैभन्दा ठूलो धार्मिक मेला मानिन्छ।
२९ पुस (जनवरी १३) मा सुरु भएको महाकुम्भ ४५ दिनसम्म चल्ने छ । सन् २०१९ मा भएको कुम्भ मेलामा २५ करोड मानिस सहभागी भएका थिए । यो मेलालाई एकता र समानताको मञ्चका रूपमा लिइने र विविध संस्कृति र परम्पराका मानिस यसमा सहभागी हुने भारत सरकारले जनाएको छ।
ब्राजिलको रियो कार्निभल, साउदी अरबको हज र जर्मनीको अक्टोबर फेस्टलाई सबैभन्दा धेरै मानिस सहभागी हुने कार्यक्रम मानिन्छन्। ती मेलामा क्रमशः ७० लाख, २५ लाख र ७२ लाख मानिस सहभागी हुन्छन्। तर, महाकुम्भमा अतुलनीय रूपमा ४५ करोडभन्दा बढी मानिस सहभागी हुने भारत सरकारको भनाइ छ।
महाकुम्भ मेलाले भारतीय अर्थतन्त्रमा २० खर्ब रुपैयाँ बराबर योगदान गर्ने अपेक्षा गरिएको छ। महाकुम्भकै कारण उत्तर प्रदेशको आर्थिक वृद्धि थप १ प्रतिशतले बढ्ने प्रक्षेपण छ। यो मेलाका कारण १ खर्ब ७३ अर्ब १० करोड रुपैयाँको दैनिक आवश्यकताको सामान बिक्री हुने तथा होटल एवं ट्राभल क्षेत्रकै व्यापार २८ अर्बको हुने अपेक्षा छ।
यो मेलामा प्रयोग हुने धार्मिक वस्तुको व्यापार २० अर्बको हुने र फूलको मात्रै ८ अर्बको कारोबार हुने अपक्षा गरिएको छ। दैनिक १ करोडभन्दा बढी तीर्थयात्रु व्यवस्थापनमा भारत सरकारले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ ९एआई० प्रयोग गरेको जनाइएको छ।
सुरक्षाका लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन्। यति ठूलो संख्यामा सहभागी हुने कार्यक्रमको व्यवस्थापन गर्न सक्नु आफैमा आश्चर्यजनक भएको मिडियाले उल्लेख गरेका छन्।
यो कुम्भ मेला व्यवस्थापन गर्न भारतले ४ हजार हेक्टरमा फैलिएको कृत्रिम सहर नै विकास गरेको छ। बसोबास लगायतमा १ लाख ५० हजार टेन्ट लगाइएको छ, सरसफाइ तथा यातायातको सुदृढ व्यवस्था गरिएको जनाइएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार मन्त्रिपरिषद् बैठक नै महाकुम्भस्थलमा आयोजना गर्दै गरेको जीन्युजले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी ५ फेब्रुअरीमा महाकुम्भ मेला भ्रमण गर्ने सम्भावना रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। २७ जनवरीमा केन्द्रीय गृहमन्त्री अमित शाहले भ्रमण गर्ने कार्यक्रम छ। महाकुम्भमा हरेक दिन केही न केही रोचक घटना भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
