
काठमाडौँ। पोखरामा पटक-पटक आइरहने वातावरण बनाउन आफूहरू लागिपरेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन्। आचार्यले पर्यटक आवागमन बढाउन सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाउन लागिएको बताए।
‘पोखरा पर्यटकीय गन्तव्य हो, नआई नहुने ठाउँ हो,’ उनले भने, ‘एकचोटि होइन, पटक–पटक आउने ठाउँ पोखरा हो भनेर बनाउन र पुष्टि गर्न लागिरहेका छौँ।’ उनले ०८० चैत ४ गते पोखरालाई पर्यटनको राजधानी सहर घोषणा गरेको सम्झँदै उनले त्यहीअनुसार नीतिहरू बनाइएको बताए।
‘गण्डकी प्रदेश पर्यटनको हब र पोखरा पर्यटनको राजधानी भनेर घोषणा गरिसकेका छौँ,’ उनले भने, ‘म निर्वाचित भएर आएपछि पोखरालाई पर्यटनको राजधानी बनाउने भनेर पहिलो निर्णयमा हस्ताक्षर गरेको थिएँ, जुन कुरा आज पुरा भइसकेको छ।’ पोखराको मुख्य कुरा भनेको नै पर्यटन रहेको उनको भनाइ छ।
‘त्यसैले हाम्रा सम्पूर्ण गतिविधि त्यस अन्तर्गत नै अगाडि बढाएका छौँ, फेरि साउनयता पानी नपरेकाले माछापुच्छ्रे निकै नै कालो भएको छ, तर त्यो माछापुच्छ्रे जे हेर्यो, त्यसैको आकृति देखिन्छ,’ उनले भने, ‘त्यसैले तपाईँले पोखरालाई जुन आँखाबाट हेर्नुहुन्छ, पोखरा त्यसैको गन्तव्य हो, चाहे शिक्षाको क्षेत्र होस्, पर्यटन, स्वास्थ्य, खेलकुदको नै किन नहोस्।’
