एनसेल पाँचौं टाइगर कप भलिबल: आयोजक टोलीबाट खेल्न ३ विदेशी खेलाडी आइपुगे पोखरा

Share:

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीमा अनुबन्ध भएका ३ विदेशी खेलाडी पोखरा आइपुगेका छन् ।थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात आयोजकबाट टोलीबाट टाइगर कप खेल्न बिहीबार साँझ पोखरा आइपुगेका हुन् ।

उनीहरुलाई स्वागत गर्न कप्तान अरुणा शाही, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसीसहितका टोली पोखरा विमानस्थल पुगेका थिए । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोली सहभागी बनाउन लागेको हो ।

आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । टोलीको प्रशिक्षकको रुपमा अर्जुन घिमिरे रहनेछन् । टोलीमा ३ विदेशीसहित राष्ट्रिय यु-२० टोलीबाट खेलेका ४ खेलाडी समावेश छन् ।

गत साउनमा भएको काभा यु २० महिला भलिबलमा नेपालको कप्तानी गरेकी मिना सुनारसहित निशा चौधरी, अनुषा चौधरी र आरती चौधरी टाइगर कपमा आयोजकको टोलीमा छन् । यसबाहेक गण्डकी प्रदेशबाट खेलिरहेका खेलाडीलाई टोलीमा समावेश गरिएको छ ।

माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने उक्त प्रतियोगितामा महिलातर्फ आयोजकसहित १ विदेशी गरी ६ टोलीले सहभागिता जनाएका छन् । आयोजकका अनुसार विभागीय टोलीबाहेक अन्य टोली पनि विदेशी खेलाडी अनुबन्ध गर्ने छन् । पुरुषतर्फ पनि १ विदेशीसहित ६ टोली सहभागी भएका छन् ।

हेल्प नेपालमा ३ विदेशी खेलाडी

शनिबारबाट सुरु हुने एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हेल्प नेपाल स्पोर्टस् क्लबले १ अमेरिकीसहित ३ विदेशी खेलाडी भिœयाएको छ । स्पोर्टस् क्लबले अमेरिकन प्लेयर जचारी तारो मायर र पाकिस्तानी खेलाडीद्वय मोहम्मद कसिफ नभिद र आइमल खानलाई टोलीमा अनुबन्ध गरेको क्लबका महासचिव अरुण श्रेष्ठले जानकारी दिए ।

टाइगर कप खेल्न तीन जनै खेलाडी नेपाल आइसकेको छन् । नभिद र खानले यसअघि पनि हेल्प नेपालबाट खेलिसकेका छन् भने मायर पहिलोपटक हेल्प नेपालबाट खेल्न नेपाल आएका हुन् । टाइगर कपमा हेल्प नेपालको कप्तानी टोपबहादुर थापाले गर्ने छन् । टोलीको उपकप्तानको रुपमा धीरज बस्नेत रहनेछन् ।

यसबाहेक टोलीमा विष्णु बस्नेत, चिरञ्जीवी खड्का, सुरेन्द्रबहादुर बम, चित्रबहादुर केसी, मनिष मानन्धर, विष्णुबहादुर क्षेत्री र सुवास कुँवर छन् । टोलीको प्रशिक्षकमा उत्सव खड्का रहनेछन् । हेल्प नेपाल अघिल्लो संस्करणको विजेता हो ।

माघ १९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा २ विदेशीसहित १२ टोली सहभागिता जनाएका छन् । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् ।

उपविजेतालाई समान २ लाख ८५ हजार ५ सय ५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: