पोखरामा जारी टाइगर कप भलिबलमा एक खेल अगावै महिलातर्फ प्ले अफ समिकरण पूरा

Share:

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ प्ले अफको समिकरण पूरा भएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत महिलातर्फको लिगमा एक खेल अगावै प्ले अफको समिकरण भएको हो।

मंगलबार भएको महिलातर्फ जित्ने समुहको लिग अन्तर्गतको खेलमा आयोजक टोलीले ३ अंक जोडेको हो। टाइगर ग्रुप अफ पोखराको टिमले टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लबलाई ३-० को सेटमा हराएको हो।

सोमबार भएको खेलमा एपिएफले डायमण्डलाई नै पराजित गर्दै ३ अंक जोडेको थियो। सोही कारण जित्ने समुहको लिगबाट पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लागेको हो।

आयोजक र एपिएफ बिच ‘टप १’ मा कुन रहने भन्ने टुंगो बुधबारको खेलबाट लाग्नेछ। भने, दुवै खेल गुमाएको डायमण्डले एलिमिनेटर खेल्ने पक्का भएको छ।

यता, मंगलबार नै भएको हार्ने समुहको लिगमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एलिमिनेटरका लागि छनोट भएको छ।

सोमबार भएको खेलमा ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३-१ सेटमा हराएको थियो। अब, पुलिसले जित्ने समुहको तेस्रो स्थानमा रहेको डायमण्डसँग एलिमिनेटर खेल्नेछ।

महिलातर्फ बुधबार हुने हार्ने समुहको लिग चरणको थाइल्याण्ड र आर्मीबिचको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ भने, जित्ने समुहको एपिएफ र आयोजकको खेल पहिलो र दोस्रो स्थानका लागि हुनेछ।

पुरुषतर्फ हार्ने र जित्ने दुवै समुहको लिग निकै रोमाञ्चक हुँदै गएको छ। कुन समूह प्ले अफमा पुग्नेछ भन्ने टुंगो बुधबार र बिहीबार बिहान हुने खेलपछि लाग्नेछ।

मंगलबार भएको पुरुषतर्फको पहिलो खेलमा हार्ने समुहबाट गण्डकीले ३ अंक जोडेको छ। गण्डकीले एपिएफमाथि ३-१ सेटको जित दर्ता गराएको हो।

पहिलो सेट २३-२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो। गण्डकीले दोस्रो सेट २५-२०, तेस्रो सेट २५-१९ र चौथो सेट २५-१५ ले आफ्नो पक्षमा पार्‍यो।

अब गण्डकी र एपिएफले टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबसँग खेल्नेछन्। त्योभन्दा अघि बुधबार टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबले एपिएफसँग खेल्नेछ। त्यसपछि शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ।

जित्ने समुहको लिग पनि निकै प्रतिष्पर्धात्मक बनेको छ। मंगलबारको खेलसम्म पनि पहिलो क्वालिफायर खेल्ने टिम र एलिमिनेटर खेल्ने टिमको छिनोफानो भएको छैन्। सोमबारको खेलमा भारतको सुनिल क्लबलाई हराएर ३ अंक जोडेको नेपाल पुलिस पराजित भयो।

उसले आर्मीसँग ३-१ को हार व्यहोर्‍यो। पुलिसलाई जितेको आर्मीले पनि ३ अंक नै बनाएको छ। पहिलो सेटमा २५-१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१-२५ ले पुलिसलाई सुम्पिएको थियो। तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो। आर्मीले तेस्रो सेट २५-१५ र चौथो सेट २५-२२ ले जित हासिल गर्‍यो।

‘जित्ने समूह’ मा आर्मीले बुधबार भारतको सुनिल भलिबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ। यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ।

प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन्। उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: