
पोखरा। प्रदेश खेलकुद परिषदको दशौं पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ। मंगलबार बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, आसन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि आवश्य अपुग रकम प्रदेश सरकारसँग आग्रह गर्ने लगायतका निर्णय गरेको छ।
यस्तै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्न जिल्ला खेलकुद विकास समितिहरुलाई परिचालन गर्ने निर्णय समेत गरेको छ। बैठकको अध्यक्षता गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापाले गरेका थिए।
उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी जुट्न निर्देशन दिए। उनले विगतको शाखलाई कायम गर्न नवौं राष्ट्रियमा पदक विजेता खेलाडीहरुको खोजी गर्न र कार्ययोजनासहित तयारी थाल्न परिषदका सदस्यहरुलाई आग्रह गरे।
उनले भने, “दशौं राष्ट्रिय खेलकुदमा हाम्रो शाखालाई जोगाउनु छ। समिति, उपसमिति बनाएर कार्ययोजनासहित अघि बढ्नुहोस। मन्त्रालय सहयोग गर्न तयार छ।”
वैदेशिक रोजगारीमा रहेका खेलाडीहरुलाई समेत बोलाएर खेल संघहरु परिचालन गरी प्रशिक्षण कार्यलाई अघि बढाउनु पर्ने औंल्याए।
दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि राष्ट्रिय खेलकुद परिषदबाट पत्र प्राप्त हुनासाथ तयारीमा हुने अपुग रकम सम्बन्धमा प्रदेश सरकार मुख्यमन्त्रीसहित उच्चस्तरीय बैठक बोलाउने प्रतिवद्धता जनाउँदै गोरखामा आयोजनाको तयारी सुरू गरिएको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि समेत अघि बढ्न उनले निर्देशन दिए।
मन्त्री थापाले भने, “खेलाडी उत्पादनको मुख्य स्रोत भनेकै राष्ट्रपति रनिङ शिल्ड हो। हामीले यो प्रातियोगिता सम्पन्न गर्नुपर्छ।” त्यसैगरी मन्त्री थापाले पोखरा रंगशालामा विद्यालयका संस्थाहरुलाई प्रतियोगिता सञ्चालनका लागि सहज वातावरण बनाउनुपर्ने कुरामा समेत जोड दिए।
मन्त्री थापाले सहाशिक खेलकुदमा रहेको प्याराग्लाइडिङ प्रतियोगितालाई दशौं राष्ट्रिय खेलकुदमा समावेश गर्न संघीय यूवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरिने बताए।
यस्तै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिले सबैका लागि मुख्य चासोको विषय रहेको जनाउँदै तयारीमा तीव्रता दिनुपर्ने बताए।
अर्ध वार्षिक समिक्षासहित सम्पन्न बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले प्रदेशलाई खेलकुदमय बनाउन परिषद योजनाबद्ध रुपमा अघि बढेको बताउँदै दशौं राष्ट्रिय खेलकुदसँगै प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी अहिलेको प्रमुख विषय बनाएर परिषद अघि बढ्ने उल्लेख गरे।
बैठकमा कार्यकारी सदस्य दिल बहादुर गुरूङ, ऋषीराम गौतम, तारामाया थापा मगर, कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा अधिकृत निलकण्ठ ढकालले समेत आफ्ना भनाई राखेका थिए।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत्र २३ देखि ३० गते सम्म कर्णाली प्रदेशको सुर्खेत हुनेछ।
प्रतियोगितामा विभिन्न ३६ खेल हुनेछन्। यस्तै प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुनको तेस्रो साता गोरखामा तय भएको छ।
