
पोखरा । १९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ मा २१ देशका १० हजार धावक दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मञ्च अध्यक्ष दिलबहादुर गुरूङले म्याराथनमा २१ देशका तीन हजार १ सय ७५ धावकको सहभागिता हुने जानकारी दिए।
नले खुला म्याराथन (४२.१९५ किमी) पुरुषतर्फ २१ देशका ८० विदेशीसहित १ सय ५० जनाले भाग लिने बताए। खुलातर्फ ८ महिला खेलाडीले भाग लिने छन्।
हाफ म्याराथन (२१.०१९७ किमी) महिलातर्फ १० देशका सहित ४० जना खेलाडीले भाग लिने बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो।
हाफ म्याराथन पुरुषतर्फ १० विदेशीसहित १ सय १०, १० किमि पुरुषतर्फ ११ विभिन्न देशकासहित २ सय ११ जना खेलाडीको सहभागिता हुनेछ। म्याराथनको १० किमि महिलातर्फ ११ विदेशीसहित १ सय ९, ५ किमि भेट्रान्स (५० वर्ष) पुरुष र महिलातर्फ गरी ६०, ५ किमी छात्रतर्फ १ हजार ४ सय ७० तथा छात्रातर्फ १ हजार २५ गरी कुल ३ हजार १ सय ७५ जना खेलाडी नाम दर्ता गराएका छन्।
रन फर फनमा करिब ७ हजार गरी म्याराथनमा १० हजार खेलाडीले भाग लिने मञ्चका अध्यक्ष गुरुङले जनाए। प्रतियोगिताका लागि ‘स्वास्थ्यका लागि पोखराका लागिसँगै, पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौँ’ नारा तय गरिएको छ। पोखरा रंगशालामा आगामी फागुन ३ गते शनिबार यो वर्षको म्याराथन प्रतियोगिता हुँदैछ।
‘३ वर्षदेखि पुरस्कारको राशि बढोत्तरी गर्दै सहभागी धावकलाई थप आकर्षण दिने प्रयास गरिएको छ,’ उनले भने, ‘म्याराथनमा १४ विभिन्न क्याटोगरीमा गरी २१ लाख ३४ हजार नगद पुरस्कार प्रदान गरिनेछ।’ अध्यक्ष गुरुङले नेपालका ४ म्याराथनमध्ये पोखरा म्याराथन पहिलो र सर्वाधिक पुरस्कार राशिको भएको दाबी गरे।
खुल्ला ४२.१९५ किलो मिटरको म्याराथनका विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्नेछन्। द्वितीयले ३ लाख, तृतीयले २ लाखका अलवा सान्त्वना स्वरुप चौथोदेखि आठौं स्थान हासिल गर्ने धावकले ३० देखि १० हजारसम्म नगद पुरस्कार पाउने अध्यक्ष गुरुङले जनाए। १९ औं संस्करणको पोखरा म्याराथनका लागि १ करोड ८९ हजार खर्च हुने अनुमान छ।
पोखरा म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता गराएको र रुट समेत एम्सबाट प्रमाणिकरण भइसकेको छ । पोखरा म्याराथन पूर्ण रुपमा प्रविधिमैत्री हुने निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीले जनाए। १९ औं पोखरा म्याराथनलाई यस वर्ष सातै प्रदेशमा आयोजना गरिने ७ सय ७७ म्याराथनको समेत सुरूवात हुने नेपाल रन युके तथा धरान रनका संस्थापक सन्तोष राईले जानकारी दिए।
पोखरा म्याराथनको लागि लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दूधले मुख्य प्रायोजनका रुपमा साथ दिएको छ। सफल दूधले विस २०७२ देखि २०८३ सम्मका लागि प्रायोजन गरेको छ। नेपाल भूतपूर्व खेलाडी मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले पोखरालाई दौड संस्कृतिको रुपमा विकास गर्न साप्ताहिक तथा मासिक दौडका अलवा पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि नागरिक स्तरको दबाबमूलक कार्यक्रम गर्ने जनाए।
