२ अर्ब बढीको अनलाइन जुवा खेलाउने ४ जना भारतीय पक्राउ

275
0
Share:

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-२ तौलुङमा घर भाडामा लिई विभिन्न अवैध अनलाइन गेमिङ वेबसाइटहरूको प्रयोग गर्दै अनलाइन जुवा खेलाएको आरोपमा ४ जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोरखपुर जिल्लाका २२ वर्षीय मो. आरिफ हुसेन, उत्तर प्रदेश फत्तेपुर जिल्लाका ४२ वर्षीय अब्दुल कलाम, उत्तर प्रदेश गोरखपुरका २५ वर्षीय अविसेक मदेसिया र फत्तेपुर जिल्लाका ४० वर्षीय इरफान पठान रहेका छन्। हाल उनीहरू बूढानीलकण्ठस्थित तौलुङमा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर तथा मातहत प्रहरी वृत्त महाराजगन्ज र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।

भारतीय नागरिकहरूले २ अर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको कारोबार हुनेगरी अवैध अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले बताए।

उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
Share: