
पोखरा। पोखरा-१९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय स्थलहरुको अवलोकनलाई प्राथामिकतामा राखेका छन्।
प्रत्येक वर्ष नयाँ नयाँ ठाउको अवलोकन गर्ने गरेका आमाहरुले यस वर्ष तनहुँको प्रसिद्घ धार्मिक स्थल ढोरबाराही र बाजस्थला क्षेत्रको अवलोकन गरी धार्मिक तथा पर्यटकीय गतिविधीका बारेमा जानकारी लिएका हुन्।
स्थानीय मनकामना आमा समुहमा आवद्ध करिव ५० जना आमाहरुको टोलीले बुधवार सो क्षेत्रमा पुगी आन्तरिक पर्यटन प्रवर्द्धन गरेको समुहका अध्यक्ष भगवती पौडेलले जानकारी दिइन्।
आफ्नो गाउँ पनि पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको र आन्तरिक तथा वाहृय पर्यटकको आवागमन बढ्दै गएकाले, अन्य क्षेत्रमा पनि के कस्तो पर्यटन प्रर्वद्घन भएको छ त्यसको जानकारी लिन अवलोकन भम्रण गरिएको अध्यक्ष पौडेलले बताइन्।
ढोरबाराही महत्वूर्ण धार्मिक क्षेत्र भए पनि सो क्षेत्रसँगै जोडिएको बाजस्थला भने ओझेलमा परेको महशुस गरेको टोलीमा सहभागी महेन्द्र मावि घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलले बताए।
अवलोकनसँगै बाजस्थला क्षेत्रको पदयात्रा गरेका अनिता वराल पौडेल, कमला घिमिरे र पार्वती दाहालले बाजस्थला प्रचुर पर्यटकीय संभावनाको क्षेत्र रहेको बताउँदै, यसको विकास र प्रचारमा स्थानिय सरकारको चासो आवश्यक रहेकोमा जोड दिए।
अवलोकनका लागि पुग्नु भएकी ८६ वर्षीया तुलसी पौडेलले वृद्घ उमेरमा पनि यस्ता महत्वपूर्ण क्षेत्रको अवलोकन गर्न पाउँदा निकै खुशी लागेको अनुभव सुनाए।
शुक्लागण्डकी नगरपालिका वडा नं.९ मा पर्ने सो स्थलवाट पृथ्वी साजमार्गसहित त्यस आसपासको रमणिय दृश्यको अवलोकन गर्न सकिन्छ। दलित र जनजाति समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा परम्परागत घरहरु देख्न पाइन्छ ।उक्त क्षेत्रको विकासका लागि टोल विकास समिति सक्रिय रहेको बताइन्छ।
त्यहाँ रहेको बाजस्थला टेडिस्नल होम रिर्सोटले दृश्यावलोकनका लागि पुग्ने आन्तरिक तथा वाहृय पर्यटकलाई परम्परागत खाना र वासको सुविधा दिएको छ भने रिर्सोटमा गाउँ घरमा प्रयोग हुने परम्परागत सामाग्री समेत प्रर्दशनीमा राखेको छ।
पर्यटकीय वातावरण बनाउँन र पर्यटन विकासमा महिलालाई सक्रिय बनाउँन पनि विभिन्न ठाउँको अवलोकन गर्ने गरी वार्षिक कार्य तालिका नै बनाइएको समुहका सचिव लिलादेवी पौडेलले जानकारी दिए। समुहले यसअघि आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्याङ्जाको दरौं सिरुवारीको अवलोकन गराएको थियो।
